नेपाल

गुल्मी स्कारपियो दुर्घटना : छ जनाको मृत्यु, तीन घाइते

गुल्मी। गुल्मीमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। यस जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार स्याङ्जाको चिरकोटदेखि राक्सेतर्फ आउँदै गरेको बी एए ०२२० नम्बरको स्कारपियो सडकदेखि करिब २५० मिटर तल खस्न गई दुर्घटना भएको हो।

दुर्घटनामा परेर घटनास्थलमै पाँच जनाको र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। सवारी चालक स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर–२ बस्ने ६७ वर्षीय दिलिप कुमार बागाले, वडा नम्बर–१० बस्ने ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर–१ सिरकोट घर भई हाल स्याङ्जा वालिङ बस्ने अन्दाजी ५०र५५ वर्षका लोकनाथ पाण्डे, गुल्मी सिरकोट घर भई हाल बुटवल बस्ने वर्ष नखुलेकी सिता पाण्डे र गुल्मी सिरकोट घर भई हाल बुटवल खैरेनी बस्ने वर्ष नखुलेका कुलानन्द पाण्डेको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै, उपचारका क्रममा कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा वालिङ नगरपालिका वडा नम्बर–२ बस्ने वर्ष नखुलेकी निता बगालेको मृत्यु भएको हो। दुर्घटनामा परेर तीन जना घाइते हुनुभएको उहाँले जानकारी दिनुभयो। गुल्मी कालीगण्डकी गाउँपालिका–१ सिरकोट बस्ने छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा उपचार भइरहेको छ। उहाँको अवस्था सिरियस रहेको छ। स्याङ्जा वालिङ नगरपालिका बस्ने अन्दाजी ५०र५५ वर्षीया गोमता पाण्डेलाई मिसन अस्पताल पाल्पा पठाइएको छ। उहाँको अवस्था मध्यम छ।

वालिङ नगरपालिका वडा नम्बर–१० बस्ने बालकृष्ण सुवेदीको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमै उपचार भइरहेको छ। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको कमाण्डमा छ जना, इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा पाँच जना तथा थप उद्दारका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) विश्वकर्माको कमाण्डमा दश जनाको प्रहरी टोली खटिएको थियो। घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्