नेपाल

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामको काम रोकिएको छ । 

अरुण नदीमा जलसतह बढेपछि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।

आयोजनाको निर्माणाधीन क्षेत्रमा अरुण नदीको पानीको बहाव बढेपछि ड्राइभर्सनका लागि अस्थायी रूपमा निर्माण गरिएको टनेलबाट पानी पूर्ण रूपमा निकास हुन नसक्दा पानी अस्थायी ड्याममाथिबाट बगेको छ ।

निर्माणाधीन स्थायी ड्याममा पानी जान थालेपछि ड्यामको काम तत्कालका लागि रोकिएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । उहाँका अनुसार हाल उक्त क्षेत्रमा अरुण नदीको पानीको बहाव ८१८.५० मिटर पुगेको छ । आयोजनास्थलमा नदीको पानीको बहाव ८१७ मिटरभन्दा माथि पुगेमा जोखिमपूर्ण हुने बताइएको छ । आयोजनास्थलको अवस्था तथा नदीको पानीको बहावको निरन्तर निगरानी गरिरहेको जनाइएको छ ।

पछिल्लो अवस्थाका कारण आयोजनाको ड्याम निर्माण कार्य प्रभावित भएको हो । निरन्तर नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम भएका बस्तीमा पनि उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । वर्षाको गतिविधि बढ्दै जाने र जिल्लाका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले विशेष सावधानी आवश्यक रहेको स्थानीय प्रशासनले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्