तापसी पन्नु अभिनीत गान्धारीका निर्माताद्वारा लेखक देसाईको बौद्धिक चोरीको दावी अस्वीकार
मुम्बई । अभिनेत्री तापसी पन्नूको आगामी नेटफ्लिक्स चलचित्र ‘गन्धारी’ हालै बौद्धिक चोरीको हल्लाले चर्चामा आयो। प्राप्त जानकारी अनुसार, मुम्बईका लेखक राघव देसाईले चलचित्र निर्माताहरूमाथि ‘प्लेजरिज्म’ (बौद्धिक चोरी) को आरोप लगाएका थिए र यो हल्ला इन्टरनेटमा निकै फैलियो।
यद्यपि, चलचित्र निर्माण गर्ने कम्पनी ‘कथा पिक्चर्स’ले आधिकारिक विज्ञप्ति जारी गर्दै उक्त आरोपको खण्डन गरेको छ र यो चलचित्र लेखिका तथा निर्मात्री कनिका ढिल्लनको मौलिक सिर्जना भएको स्पष्ट पारेको छ।
आफ्नो इन्स्टाग्राम ह्यान्डलमार्फत निर्माण कम्पनीले लेखेको छ, “सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएका ती आरोपहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ, जसमा हाम्रो आगामी चलचित्र ‘गन्धारी’ ले अन्य व्यक्तिको अवधारणा र शीर्षकको नक्कल गरेको दाबी गरिएको छ।”
त्यसमा अगाडि भनिएको छ, “यी आरोपहरू झूटो हुन् र हामी तिनलाई स्पष्ट रूपमा अस्वीकार गर्छौं। ‘गान्धारी’ एक मौलिक कृति हो, जसलाई सुश्री कनिका ढिल्लनले लेखेकी र निर्माण गरेकी हुन् तथा ‘कथा पिक्चर्स’ले यसलाई विकास गरेको हो। यसको कथा र पटकथा सुश्री ढिल्लनकै आफ्नै सिर्जना हुन्।”