साहित्य समाचार

कवि पुरुषोत्तम सुवेदीको कवितासङ्ग्रह ‘उज्यालोको प्रेमगीत’ लोकार्पण

काठमाडौँ । कवि पुरुषोत्तम सुवेदीको कवितासङ्ग्रह ‘उज्यालोको प्रेमगीत’ लोकार्पण भएको छ । साहित्यकार शार्दूल भट्टराई, कवि पुरुषोत्तम सुवेदी र उहाँकी धर्मपत्नी ज्ञानु सुवेदीले बिहीबार संयुक्त रूपमा सो पुस्तक सार्वजनिक गर्नुभयो ।

सो अवसरमा साहित्यकार शार्दूल भट्टराईले उज्यालोको प्रेमगीत कवितासङ्ग्रहबारे चर्चा गर्दै भन्नुभयो, “कवि सुवेदीले यस सङ्ग्रहमा प्रेम र करुणा भावका, आव्रmोश र व्यङ्ग्यले भरिएका भावनालाई कवितामार्फत व्यक्त गर्नुभएको छ । उहाँका कविता बौद्धिक चिन्तन र नयाँ युगबोधको यात्रातिर लम्किएका छन् ।” उहाँले सो कवितासङ्ग्रहबाट विभिन्न कविता वाचनसमेत गर्नुभएको थियो ।

कवि पुरुषोत्तम सुवेदीले आफ्नो यस कवितासङ्ग्रहको परिवार र साहित्य अनुरागीबिच सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आफ्नो साहित्यिक यात्राले ५० वर्ष पुग्दा करिब ४२ वर्षसम्म जीवनसङ्गिनीको भूमिकाबाट साक्षी बन्दै आउनुभएकी धर्मपत्नी ज्ञानु सुवेदीप्रति पनि आभार व्यक्त गर्दै उहाँले साहित्यको धुनमा हिँड्ने व्यक्तिलाई परिवारको न्यानो साथले नै अगाडि बढ्न मद्दत मिल्ने अनुभव सुनाउनुभयो ।

कवि सुवेदीले कवितासङ्ग्रह प्रकाशन गरी सहयोग गर्ने इन्डिगो इन्क प्रकाशनप्रति कृतज्ञता व्यक्त गर्दै सङ्ग्रहमा समेटिएका कविताले पाठकमा समसामयिक विषयमा जागरुकता ल्याउने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले यस सङ्ग्रहमा सङ्कलित ६५ कविता सबै फरक फरक शैलीमा लेखिएको र धेरै क्षेत्रलाई समेट्ने कोसिस गरिएको बताउनुभयो । उहाँको साहित्यको यात्रा २०३२ सालदेखि सुरु भएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्