एक्सक्लुसीभ

जुम्लाको सरकारी टोली विशेष पूजा गर्न बडिमालिका प्रस्थान 

जुम्ला। बडिमालिका भगवतीको पूजाआजाका लागि जुम्लाको सरकारी टोली आज साउन १ गते बाजुरास्थित प्रसिद्ध बडिमालिका मन्दिरतर्फ प्रस्थान गरेको छ।

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडिमालिका भगवती मन्दिरमा परम्पराअनुसार पूजा गर्न जुम्लाबाट सरकारी टोली त्यसतर्फ गएको हो।

खरिदार तिलकप्रसाद न्यौपानेको नेतृत्वमा प्रशासन कार्यालयका कर्मचारी, पुजारी विष्णुप्रसाद उपाध्यायसहित पाँच जनाको टोली बडिमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईँले जानकारी दिनुभयो  । टोलीसँगै भक्तजनसमेत बडिमालिकातर्फ गएका छन्।

परम्परादेखि नै नागपञ्चमीका दिन जुम्लाको सरकारी टोली बडिमालिका पुगेर पूजा गर्ने चलन रहँदै आएको छ। तत्कालीन जुम्ला राज्य र डोटी राज्यबीचको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार बडिमालिकामा संयुक्त रूपमा पूजा गर्ने प्रचलन अहिले पनि कायम रहेको प्रजिअ प्रसाईँले बताउनुभयो।

टोलीलाई बडिमालिका प्रस्थान गराउनुअघि नेपाली सेनाको एक टुकडीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण गरेको थियो। पाँच पटक सलामी, ब्यान्डबाजा र बिगुलसहित पूजाको डोली लिएर प्रस्थान गरेको टोलीलाई भव्य रूपमा बिदाइ गरिएको थियो।

नेपाली सेनाको सलामीसहित जुम्लाका सयौँ भक्तजन, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिले फूलमाला र अबिर लगाएर टोलीलाई बिदाइ गरेका थिए।

प्रजिअ प्रसाईँका अनुसार बडिमालिका जाने टोलीको सुरक्षाका लागि मार्गमा पर्ने सीमावर्ती जिल्ला प्रशासन तथा प्रहरी कार्यालयसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको छ। उहाँले भन्नुभयो,’सुरक्षा व्यवस्था मजबुत बनाउन सम्बन्धित सबै जिल्लासँग समन्वय गरेका छौँ। आवश्यक पत्राचारसमेत गरिसकेका छौँ ।’

जुम्लाको टोली बडिमालिका पुगेसँगै डोटी र बाजुराबाट आउने टोलीसँग संयुक्त रूपमा पूजा गर्ने परम्परा रहेको छ। धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बडिमालिका यात्रालाई जुम्लाको पुरानो धार्मिक परम्पराका रूपमा लिइन्छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्