एक्सक्लुसीभ

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बडीमालिका मन्दिर करिब ४ हजार २ सय मिटर उचाइमा अवस्थित छ। यहाँ २२ वटा आकर्षक पाटन, त्रिवेणी धाम, खेतीबेतीलगायत धार्मिक तथा पर्यटकीय स्थल छन्। मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु बडीमालिका पुग्ने गरेका छन्।

बाजुरा। धार्मिक तथा पर्यटकीय तीर्थस्थल बडीमालिकामा मुख्य पूजाको तयारी तीव्र भइरहेका बेला बाजुराको सरकारी टोली सोमबार पूजा सामग्रीसहित बडीमालिकातर्फ प्रस्थान गरेको छ।

सदरमुकाम मार्तडीस्थित मालिका मन्दिरमा पूजाआजा र सुरक्षाकर्मीको सलामीपछि सरकारी टोलीको औपचारिक तीर्थयात्रा सुरु भएको हो।

बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहरालगायत सहभागी टोलीलाई बाजागाजा र फूल मालासहित बिदाइ गरिएको बडिमालिका विकास समितिले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार प्रहरी प्रमुखको नेतृत्वमा सरकारी टोली बडीमालिका प्रस्थान गरेको हो। बडीमालिकामा भक्तजनको चाप बढेसँगै सुरक्षा व्यवस्था पनि मजबुत बनाइएको सिडिओ निरौलाले बताउनुभयो।

टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन हुँदै तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने कार्यक्रम छ। बुढीनन्दातर्फको सरकारी टोली भने आइतबार नै प्रस्थान गरिसकेको छ।

बडीमालिका र बुढीनन्दा दिदीबहिनीका रूपमा पूजिने भएकाले दुवै शक्तिपीठमा भदौ ११ गते मुख्य पूजा हुने गर्दछ। भक्तजनको बढ्दो चापलाई व्यवस्थापन गर्न यस वर्ष भदौ १ गतेदेखि नै पूजा सुरु गरिएको नगरप्रमुख खड्काले बताउनुभयो।

बडीमालिका मन्दिर करिब ४ हजार २ सय मिटर उचाइमा अवस्थित छ। यहाँ २२ वटा आकर्षक पाटन, त्रिवेणी धाम, खेतीबेतीलगायत धार्मिक तथा पर्यटकीय स्थल छन्। मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु बडीमालिका पुग्ने गरेका छन्।

यसअघि डोटी, जुम्ला, कालिकोट र कैलालीको धनगढी उपमहानगरपालिकाबाट समेत सरकारी टोली बडीमालिका पुगिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि पूजा सामग्री सहित टोली पठाइसकेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्