नेपाल

पहिरोले घारखोलाको विद्युतगृह पुरियो, शुरक्षा गार्ड बेपत्ता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एक जना सुरक्षा गार्ड बेपत्ता हुनुभएको छ ।

मङ्गलबार राति करिब ३ बजे विद्युतगृहको पछाडि रहेको ल्यासीको भीरबाट पहिरो खस्दा विद्युतगृहमा क्षति पुगेको हो । पहिरोमा परी आयोजनामा सुरक्षार्थ खटिनुभएका खिमबहादुर बरुवाल (दिपक) सम्पर्कविहीन हुनुभएको स्थानीय प्रेमबहादुर बरुवालले जानकारी दिनुभयो ।

पहिरोले जलविद्युत् आयोजनाको विद्युतगृह पुरिएको सूचना पाएपछि अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीस्थित इलाका प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले पहिरोमा पुरिनुभएका एक जनालाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

विद्युतगृहको पछाडि रहेको पहाडको माथिल्लो भाग खसेर विद्युतगृहको केही भाग पुरिएको प्रहरीले जनाएको छ । आयोजनामा कार्यरत एक जना सुरक्षा गार्ड सम्पर्कविहीन रहेको र उहाँको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

२०८० असारदेखि यो पावरहाउस सञ्चालनमा आएको थियो । अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध बनाई घारखोलाको पानी तीन हजार पाँच सय मिटर लामो सुरुङमार्फत सोही गाउँपालिका–६ अमिलाकाफलस्थित आउटलेटमा ल्याइएको छ ।
त्यहाँबाट एक हजार दुई सय मिटर लामो पेनस्टक पाइपमार्फत ४८५ मिटर हेडबाट बेनी–जोमसोम सडकअन्तर्गत पोखरेबगरस्थित विद्युतगृहमा पानी पुर्‍याइएको छ । पहिरोले विद्युतगृहमा क्षति पुर्‍याएपछि आयोजनाको विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्