नेपाल

रसुवामा भीषण बाढी, स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा गम्भीर क्षति

सुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ। बाढीका कारण जनधन तथा भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तिब्बततर्फबाट ठूलो बाढी आएपछि रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका केही गाउँ डुबानमा परेका छन्। बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुगेको र घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।

बाढीको अवस्था अझै विकसित हुनसक्ने भन्दै सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न पनि निर्देशन दिइएको छ।

त्रिशूली नदीमा बाढीको बहाव बढ्न सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन, नदी तथा खोलाको किनारमा नजान र अनावश्यक यात्रा नगर्न अनुरोध गरिएको छ।

स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना तथा चेतावनीको पालना गर्न र अफवाहको पछि नलागी आधिकारिक सूचनामा विश्वास गर्न सरकारले आग्रह गरेको छ। सम्भावित जोखिम बढे तत्काल सुरक्षित स्थानमा सर्न तथा आवश्यक परे सम्बन्धित निकायलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्