पूर्वी वासिङ्टनमा लागेको डढेलोमा ६०० वटा संरचनाहरू जले, ६० हजार मानिसहरू सुरक्षित स्थानमा सर्न बाध्य
कान्सास, (एपी)। अधिकारीहरूले आइतबार बताएअनुसार पूर्वी वासिङ्टन राज्यको स्पोकेन क्षेत्रमा लागेको डढेलोका कारण ६० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सार्नुपरेको छ भने कम्तीमा ६०० घर, व्यवसाय र अन्य संरचनाहरू नष्ट भएका छन्।
राज्यको दोस्रो ठूलो सहर स्पोकेन र यसको वरपरको क्षेत्रमा सप्ताहन्तमा लागेको डढेलोले करिब ८.२ वर्ग माइल (करिब २१ वर्ग किलोमिटर) क्षेत्रफल जलाएको छ। यो पश्चिमी अमेरिकाभरि फैलिएका दर्जनौं डढेलोहरूमध्ये एक थियो, जसले संघीय, राज्य र स्थानीय निकायहरूको नियन्त्रण क्षमतालाई समेत चुनौती दिएको छ।
राज्यभरि कुल करिब ३९० वर्ग माइल (१,००० वर्ग किलोमिटर) क्षेत्र डढेलोले जलाइसकेको छ र स्पोकेन क्षेत्रका सहित केही डढेलोहरू अझै नियन्त्रणमा आउन सकेका छैनन्।
हालसम्म कोही पनि घाइते वा बेपत्ता भएका छैनन्
अग्नि नियन्त्रण र सुरक्षा अधिकारीहरूले हालसम्म कोही पनि घाइते वा बेपत्ता भएको खबर नआएको बताएका छन् — यद्यपि उनीहरूले उद्धार तथा नियन्त्रणको प्रयास भर्खरै सुरु भएको कुरामा जोड दिएका छन्।
अधिकारीहरूले स्पोकेनमा सुरक्षित स्थानमा सारिएका मानिसहरूमा त्यहाँस्थित ‘यू.एस. भेट्रान्स अफेयर्स’ अस्पतालका बिरामीहरू पनि समावेश रहेको बताएका छन्।
स्पोकेन क्षेत्रको भिडियोमा भवनहरू जलिरहेको, बस्ती नजिकै कालो धुवाँको मुस्लो उठिरहेको र घरहरू जलेर भग्नावशेषमा परिणत भई केवल चिम्नीहरू मात्र उभिरहेको दृश्य देखिएको थियो। मौसम अझै सुख्खा रहने अनुमान गरिएकाले आगामी दिनहरूमा पनि मौसमबाट कुनै राहत मिल्ने सम्भावना नदेखिएकोमा धेरै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।
“हामी अझै खतरामुक्त छैनौं,” स्पोकेनमा संघीय, राज्य र स्थानीय अधिकारीहरूसँगको पत्रकार सम्मेलनमा अमेरिकी सिनेटर मारिया क्यान्टवेलले भनिन्। “आगामी केही दिनहरू चुनौतीपूर्ण हुनेछन्।”
आगो कसरी सुरु भयो भन्नेबारे अनुसन्धानकर्ताहरूले अझै पत्ता लगाउन सकेका छैनन्।
इदाहो र ओरेगनका केही भागमा पनि घाँसे मैदानमा डढेलो
डढेलो नियन्त्रण गर्न संघर्ष गरिरहेको स्पोकेन मात्र एउटा ठाउँ थिएन।
पश्चिमी इडाहो र पूर्वी ओरेगनमा करिब ५२५ वर्ग माइल (करिब १,३६० वर्ग किलोमिटर) घाँसे मैदान डढेलोले नष्ट गरिसकेको अवस्थामा, बुलडोजर र हेलिकप्टर प्रयोग गरिरहेका टोलीहरूले लगातार दशौं दिनसम्म पनि आगो निभाउने प्रयास जारी राखे। यो क्षेत्रमा गाईपालन गर्ने फार्महरू (रैन्च) रहेका छन् र अधिकारीहरूका अनुसार डढेलोले ६०० भन्दा बढी घर तथा अन्य ८०० संरचनाहरूलाई खतरामा पारेको छ।
यस क्षेत्रमा मौसम हप्ताभरि नै घमाइलो र सुख्खा रहने तथा बुधबार तापक्रम ९० डिग्री फरेनहाइट (३२ डिग्री सेल्सियस) भन्दा माथि पुग्ने अनुमान गरिएको थियो। अधिकारीहरूका अनुसार डढेलो चट्याङका कारण लागेको हो।
राष्ट्रिय मौसम सेवाले पूर्वी वासिङ्टन, पूर्वी ओरेगन, पश्चिमी तथा मध्य इडाहो र पश्चिमी मोन्टानाको वायु गुणस्तरबारे चेतावनी जारी गरेको छ। यसले युटा, मोन्टाना र पश्चिमी नेब्रास्काका केही भागहरूमा ‘रेड फ्ल्याग’ (डढेलोको उच्च जोखिम) चेतावनी तथा एरिजोना, क्यालिफोर्निया र नेभाडाका दक्षिणी भागहरू र उत्तरी मोन्टानामा अत्यधिक गर्मीको चेतावनी जारी गरेको छ।
स्पोकेन क्षेत्रमा तीव्र हावाका कारण डढेलो नियन्त्रणमा कठिनाइ
आइतबार स्पोकेनमा तापक्रम ८० डिग्री फरेनहाइट (२७ डिग्री सेल्सियस) भन्दा कम रहने अनुमान गरिए पनि, दिउँसोसम्म ३५ माइल प्रतिघन्टा (५६ किमी/घन्टा) देखि ४५ माइल प्रतिघन्टा (७२ किमी/घन्टा) को गतिमा हावा चल्ने अपेक्षा गरिएको थियो। यो जानकारी डढेलो नियन्त्रणका लागि शनिबार राति बोलाइएको क्यालिफोर्नियाको संघीय प्रतिक्रिया टोलीका सार्वजनिक सूचना अधिकारी बेन्जामिन कोसेलले दिएका हुन्।
“मौसम र भू-बनोट दुवै हाम्रा लागि प्रतिकूल छन्,” कोसेलले भने।
स्पोकेन क्षेत्रमा तीनवटा डढेलोहरू लागेका थिए: ‘ओल्ड ट्रेल्स फायर’, ‘फेयरभ्यू फायर’ र ‘मेडभ्यू फायर’। वासिङ्टनका गभर्नर बब फर्ग्युसनले शनिबार संकटकालको घोषणा गरे भने राष्ट्रिय मौसम सेवाले पूर्वी वासिङ्टनका लागि “अत्यन्त खतरनाक अवस्था” जनाउने ‘रेड फ्ल्याग’ चेतावनी जारी गर्यो।
कोसेलले बताएअनुसार दिनमा तापक्रम बढ्दै जाँदा जमिनको सतह नजिक रहेको र हावाको गतिलाई रोकेर राख्ने चिसो हावा माथि उठ्छ, जसले गर्दा ती हावाहरू त्यस क्षेत्रमा बहन थाल्छन्। करिब २ लाख २९ हजार जनसंख्या भएको स्पोकेन सहरको बीचबाट स्पोकेन नदी बग्छ र यसका दुवै किनारमा ठाडा खोँचहरू छन् जसले हावालाई एकतर्फी बहाव दिन्छन्।
“तिनले आगोलाई खोँचहरू हुँदै, भिरालो जमिनमाथि र त्यसपछि भिरालो क्षेत्र बाहिर तथा वरिपरि धकेल्छन्,” उनले भने। “यो क्षेत्र निकै पहाडी छ, यहाँ एकदमै भिरालो जमिन र धेरै खोँचहरू छन्, जसले गर्दा हावाको बहाव निकै अस्थिर र चुनौतीपूर्ण बन्ने गर्छ।”
प्रभावित बासिन्दाहरूका लागि स्पोकेनद्वारा आश्रयस्थलको व्यवस्था
स्पोकेनका अधिकारीहरूले सहरको मुख्य सम्मेलन केन्द्रमा आश्रयस्थल स्थापना गरेका छन्। आइतबार अधिकारीहरूले बताएअनुसार त्यहाँ करिब ४०० मानिसहरू बसिरहेका थिए।
स्पोकेन काउन्टीका कमिसनर क्रिस जोर्डनले आगोबाट प्रभावित क्षेत्रमा आफ्ना आफन्तहरू रहेको र उनीहरूको घर अझै सुरक्षित छ कि छैन भन्नेबारे आफूलाई जानकारी नभएको बताए। उनले आफन्तहरू घर छोडेर निस्किँदै गर्दा उनीहरूसँग कुरा गरेको बताए।
“उनीहरू आफ्नो कारमा थिए र जताततै धुवाँ मात्र देखिरहेका थिए; यो धेरै मानिसहरूका लागि अत्यन्तै डरलाग्दो अवस्था थियो,” उनले पत्रकार सम्मेलनमा भने।
यस क्षेत्रमा विद्युत् र प्राकृतिक ग्यास सेवा प्रदान गर्ने कम्पनी ‘एभिस्टा कर्प’की अध्यक्ष तथा सीईओ हेदर रोजेनस्ट्राटरले आइतबार करिब १०,००० मानिसहरू विद्युत् सेवाबाट वञ्चित रहेको बताइन्; यो संख्या यसअघि ३०,००० को उच्च विन्दुमा पुगेको थियो। उनले एभिस्टाले दुईवटा प्रसारण लाइनहरू मर्मत गर्नुपर्ने भएकाले आगामी केही दिनमा विद्युत्को मागका कारण पुनः आपूर्ति अवरुद्ध हुन सक्ने सम्भावना रहेको बताइन्।
यसैबीच, स्पोकेनको उत्तर-पश्चिममा कम जनघनत्व भएका क्षेत्रहरूमा ठूला आगलागीहरू जारी नै छन्। यसमा सहरबाट करिब ८० माइल (१२९ किलोमिटर) टाढा रहेको एउटा आगलागी पनि समावेश छ, जसले करिब २१० वर्ग माइल (५४४ वर्ग किलोमिटर) क्षेत्र डढाइसकेको छ। पूर्वी ओरेगनको उत्तर-पश्चिममा पर्ने ‘स्टिंकिङवाटर माउन्टेन्स’ क्षेत्रमा लागेको अर्को आगोले करिब ३३६ वर्ग माइल (८७० वर्ग किलोमिटर) क्षेत्रमा क्षति पुर्याएको छ।
“अहिले सम्पूर्ण उत्तर-पश्चिमी क्षेत्र नराम्ररी प्रभावित भएको छ,” पश्चिमी इडाहो र पूर्वी ओरेगनमा ‘बिग ग्रास फायर’ नाम दिइएको आगलागी नियन्त्रणको काम गरिरहेको क्यालिफोर्नियाको संघीय टोलीकी प्रवक्ता केइला भिझकाराले भनिन्।