नेदरल्यान्ड्सले नेपाललाई दियो २२६ रनको लक्ष्य
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा जितका लागि नेदरल्यान्ड्सले नेपाललाई दुई सय २६ रनको लक्ष्य दिएको छ ।
बुधबार टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय २५ रन बनायो । नेदरल्यान्ड्का लागि नोआ क्रोस र कप्तान स्कट एडवर्ड्सले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
नोआले सर्वाधिक ७० र कप्तान स्कटले ५७ रन बनाउनुभयो । यस्तै लोगन भान बिकले २७, ज्याक लायन–क्यासेटले १६, बास डे लिडेले १३ र म्याक्स ओडाउडले १२ रन बनाउनुभयो ।
बलिङमा नेपालका करण केसी एक्लैले चार विकेट लिनुभयो । उहाँले पूरा १० ओभर बलिङ गर्दै ३० रन खर्चिनुभयो । करणले नामिबियाविरुद्धको अघिल्लो खेलमा पनि पाँच विकेट लिनुभएको थियो । यस्तै दिपेन्द्रसिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित राजवंशीले एक एक विकेट लिनुभयो ।
कमजोर ब्याटिङका कारण अघिल्ला तीन खेलमा हार खेपेको नेपाल आज नेदरल्यान्ड्विरुद्ध सान्त्वना जित निकाल्ने तयारीमा छ । नेपाल यसअघि पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा नामिबियासँग तीन रनले स्तब्ध बनेको थियो ।
नेपाल लिगमा ३१ खेलबाट २४ अङ्क जोड्दै छैटौँ स्थानमा झरेको छ । समान खेलबाट २६ अङ्क बनाएको नामिबिया पाँचौँ स्थानमा छ । ३० खेलबाट ३६ अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।
आठ टोली सहभागी लिग–२ मा एकअर्कासँग कूल ३६ खेल खेलेपछि शीर्ष चारमा रहने टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् । एकदिवसीय मान्यता प्राप्त गर्न शीर्ष ६ स्थानमा अटाउनुपर्नेछ ।