नेपालमै पहिलोपटक पारा टेन्डम र ह्यान्डसाइकलको प्रदर्शन
काठमाडौं । नेपालमा पहिलोपटक दृष्टिविहीन व्यक्तिका लागि पारा टेन्डम साइकल तथा ह्विलचेयर प्रयोगकर्ताका लागि ह्यान्डसाइकलको प्रदर्शन गरिएको छ।
अमेरिकास्थित इन्क्लुसिभ साइक्लिङ इन्टरनेशनलको सहयोगमा बीआईए इन्स्टिच्युटले आइतबार काठमाडौंको भृकुटीमण्डपस्थित पद्मोदय माध्यमिक विद्यालयमा विशेष कार्यक्रम आयोजना गर्दै यी विशेष प्रकारका साइकलको प्रदर्शन गरेको हो ।
नेपालमा पहिलोपटक बीआईए इन्स्टिच्युटले दृष्टिविहीन व्यक्तिका लागि पारा टेन्डम साइकल तथा ह्विलचेयर प्रयोग गर्ने व्यक्तिका लागि ह्यान्डसाइकल सार्वजनिक गरेको हो। आयोजकका अनुसार यस पहलको उद्देश्य सबैका लागि साइकल चलाउन सहज पहुँच सुनिश्चित गर्नुका साथै शारीरिक सक्रियता, समावेशिता र सामाजिक सहभागितालाई प्रवद्र्धन गर्नु हो।
प्रदर्शनात्मक साइकल यात्रा पद्मोदय माध्यमिक विद्यालयबाट सुरु भई सुन्धारा, जमल र नारायणहिटी दरबार संग्रहालय अगाडिको मार्ग हुँदै पुनः विद्यालय परिसरमै आएर सम्पन्न भएको थियो। यात्रामा सहभागी साइकल प्रयोगकर्तालाई नेपाल साइक्लिङ सोसाइटी र एफएन्डएफ साइक्लिङ ग्रुपका करिब ३० जना सदस्यले स्कर्टिङ गरेका थिए।
कार्यक्रममा १० वटा विशेष साइकल प्रयोग गरिएको थियो। बीआईए इन्स्टिच्युटका खेलकुद बिभागका प्रमुख दिलीप सापकोटाका अनुसार यस अभियानले दृष्टिविहीन तथा ह्विलचेयर प्रयोग गर्ने व्यक्तिहरू पनि साहसिक तथा पर्यटनसम्बन्धी गतिविधिमा सक्रिय रूपमा सहभागी हुन सक्छन् भन्ने सन्देश प्रवाह गर्ने उद्देश्य राखेको बताए। साथै, यसले नेपाल भ्रमणमा आउने दृष्टिविहीन तथा ह्विलचेयर प्रयोग गर्ने विदेशी पर्यटकलाई समेत आकर्षित गर्दै पारा–पर्यटन र पारा–खेलकुदको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
बीआईए इन्स्टिच्युटले नेपालमा पहिलोपटक यस्ता विशेष प्रकारका साइकल भित्र्याएको हो। संस्थाले शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि विभिन्न सीपमूलक तथा सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
साइकल यात्रामा सहभागी शिव आचार्यले यस प्रकारको साइकल यात्राले आफूलाई नयाँ र उत्साहजनक अनुभव दिलाएको बताए। “यसअघि पनि यस्तो अनुभव लिएको थिएँ। तर टेन्डम साइकलमा पछाडि बसेर साथीसँगै यात्रा गर्दा झनै फरक आनन्द महसुस भयो,“ उनले भने।
त्यस्तै अर्का सहभागी विमल पौडेलले पारा टेन्डम साइकल पहिलोपटक चलाउँदा निकै नौलो अनुभव भएको बताए। ‘यो साइकलले अर्को साथीसँग मिलेर सहज रूपमा साइकल यात्रा गर्न सकिन्छ भन्ने आत्मविश्वास दिएको छ। भविष्यमा पनि यस्तो साइक्लिङ गर्ने अवसर पाउने आशा गरेको छु,’ उनले भने।
कार्यक्रममा बीआईए इन्स्टिच्युटका संस्थापक अध्यक्ष छोगेल रिन्पोछे, नेपाली चलचित्रका महानायक राजेश हमाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।