खेलकुद

काठमाडौँ । सहिद स्मृति स्पोट्र्स एकेडेमीको आयोजना, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग, बागमती प्रदेश रग्बी संघको व्यवस्थापन तथा नेपाल रग्बी संघको समन्वयमा सञ्चालित सहिद स्मृति राष्ट्रिय यू–२० पुरुष तथा महिला सेभेन्स रग्बी प्रतियोगिता–२०८३सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि पुरुषतर्फ कर्णाली प्रदेशले जित्दा महिलातर्फ बागमती प्रदेश च्याम्पियन बनेको छ।

युवा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा देशका विभिन्न प्रदेश टोलीबीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा पुरुषतर्फ पाँच तथा महिलातर्फ चार प्रदेश टोलीको सहभागिता रहेको थियो । आयोजकका अनुसार प्रतियोगिताले युवा खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै आगामी नोभेम्बरमा भारतमा आयोजना हुने यू–२० एसियन रग्बी प्रतियोगिताका लागि नेपाली टोली छनोट गर्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।

यस प्रतियोगितामा खेलाडीहरूले गरेको प्रदर्शनकै आधारमा राष्ट्रिय टोलीका सम्भावित खेलाडीहरूको मूल्याङ्कन गरिने जनाइएको छ । प्रतियोगिताको स्वास्थ्य साझेदारका रूपमा भक्तपुर इन्टरनेशनल हस्पिटल रहेको थियो।

पुरुषतर्फको फाइनल खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशमाथि १५–१० को रोमाञ्चक जित निकाल्दै उपाधिमाथि कब्जा जमायो। महिलातर्फको फाइनलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ५–० ले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा बागमतीले गरेको एक सफल ट्राई नै खेलको निर्णायक बन्यो।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत पुरस्कारसमेत प्रदान गरिएको थियो। पुरुषतर्फ कर्णाली प्रदेशका मनोज ताम्राकार प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। उनले प्रतियोगिताभर निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई उपाधिसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। महिलातर्फ बागमती प्रदेशकी पूजा डंगोल उत्कृष्ट खेलाडी घोषित भइन् । उनले फाइनलसहित सम्पूर्ण प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै आफ्नो टोलीको सफलतामा महत्वपूर्ण योगदान दिएकी थिइन्।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि एसिया रग्बीका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव टंकलाल घिसिङले विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा बोल्दै उनले नेपालमा रग्बी खेलको विकासका लागि यस्ता उमेर समूहका राष्ट्रिय प्रतियोगिताले महत्वपूर्ण आधार तयार गर्ने बताए । उनले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन नियमित प्रतियोगिता, व्यवस्थित प्रशिक्षण र दीर्घकालीन योजनाको आवश्यकता रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले नेपाली रग्बीको भविष्य उज्ज्वल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

समापन समारोह सहिद स्मृति स्पोट्र्स एकेडेमीका अध्यक्ष रञ्जित तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। आयोजकले प्रतियोगितालाई सफल बनाउन सहयोग पु¥याउने प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, बागमती प्रदेश रग्बी संघ, नेपाल रग्बी संघ, स्वास्थ्य साझेदार भक्तपुर इन्टरनेशनल हस्पिटल तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण निकाय, खेलाडी, प्रशिक्षक, अफिसियल र स्वयंसेवकप्रति आभार व्यक्त गरेको छ। आयोजकका अनुसार यस्ता प्रतियोगिताले नेपाली रग्बीमा नयाँ प्रतिभा पहिचान गर्नुका साथै राष्ट्रिय टोलीका लागि बलियो आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्