साहित्य

अनेसासको नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तयारी पूरा

कोलोराडो । अमेरिका तथा विश्वभर छरिएर रहेका नेपाली साहित्यकार र साहित्यप्रेमीहरूको विश्वस्तरीय सम्मेलन अमेरिकाको कोलोराडोस्थित डेनभरमा आगामी मे २२ देखि मे २५ सम्म चार दिनका लागि आयोजना हुने भएको छ ।

सम्मेलनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र सहभागी हुन आउने साहित्यकारहरूको आगमन क्रम पनि सुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को कोलोराडो च्याप्टरले जनाएको छ ।

अनेसास केन्द्रीय कार्यसमितिको तत्वावधान तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा आयोजना हुने नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा अमेरिका तथा अन्य मुलुकबाट करिब १३० जना साहित्यकार, लेखक, पत्रकार र शुभेच्छुक सहभागी हुने तथा नेपालबाट पनि आधा दर्जनजति लेखक–साहित्यकार आउने जानकारी अनेसासले दिएको छ ।

अनेसासका महासचिव राजु सिटौलाका अनुसार सम्मेलनको औपचारिक उद्घाटन मे २३ मा हुनेछ । सम्मेलनका विभिन्न सत्रमा साहित्यका विविध विषयमा बहस, अन्तरक्रिया तथा विमर्श हुनेछन् भने “इतिहासमा आख्यान र आख्यानमा इतिहास” शीर्षकमा विशेष बहस पनि हुनेछ ।

सिटौलाका अनुसार सम्मेलन अवधिभर बिहान योग कार्यक्रम सञ्चालन हुनेछ भने साँझ काव्य उत्सव हुनेछ ।

कार्यक्रमअनुसार मे २३ (शनिबार) सम्मेलनको औपचारिक उद्घाटनपछि मुख्य वक्ताका रूपमा सहभागी स्वतन्त्र प्रकाशक तथा सर्वाधिक पुस्तक विक्रेताको सूचीमा रहेका लेखकद्वय ज्याकलिन कर्वक र रेड ओ’लिटलिनले प्रकाशन, वितरण तथा बजार व्यवस्थापनका विषयमा मन्तव्य राख्नुहुने छ ।

त्यसपछि अंग्रेजीमा नेपाली साहित्यिक उत्सव आयोजना हुनेछ । साथै विभिन्न देशबाट आएका स्रष्टाहरूले आफ्ना रचना वाचन गर्ने कार्यक्रम रहेको छ ।

मे २४ मा प्रवासी नेपाली लघुकथा, अनेसास नवरत्न पुरस्कार वितरण, आख्यानमा इतिहास र इतिहासमा आख्यान, काव्यिक परम्परा र समकालीन अभिव्यक्ति, नेतृत्व र साहित्य, अनेसास पूर्वअध्यक्षहरूको अनुभव, शाखादेखि केन्द्रसम्म नेपाली साहित्यको उन्नतिमा अनेसासको योगदान, डायस्पोरामा नेपाली साहित्य विकासमा नेपाली पत्रकारको योगदान, विश्व साहित्यमा नेपाली बाल साहित्य र हाम्रो दायित्व, लेखनदेखि प्रकाशन र पाठकसम्म, नेपाली साहित्यमा अन्य भाषाको चर्चा, नेपाली साहित्यमा सिद्धान्त चिन्तन, नेपाली महिला साहित्यः संघर्षदेखि सशक्तीकरणसम्म तथा साहित्य र संस्कृति विषयमा छलफल हुनेछ । सम्मेलन घोषणापत्र जारी गर्दै समापन गरिनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्