डायस्पोरा

क्यानाडा-नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा लामिछाने निर्वाचित

टोरन्टो । फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। 

टोरन्टोमा सम्पन्न सभाले गोकर्ण लामिछानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो। लामिछाने यसअघि विजय पौडेल नेतृत्वको कार्यसमितिमा महासचिवका रूपमा कार्यरत थिए।

विगत ६ वर्षदेखि क्यानाडामा क्रियाशील यो संस्थाले क्यानडा र नेपालबिचको व्यापारिक सम्बन्ध सुदृढ बनाउन समन्वयकारी भूमिका खेल्दै आएको छ।

साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत घोषणा गरेको छ। जसअनुसार उपाध्यक्षमा लक्ष्मण मण्डल, महासचिवमा नवीन लुइँटेल, सचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा सुरेन्द्र सुराना निर्वाचित भएका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा पूर्णिमा दागा, ईश्वर चन्द राजन, अर्चना प्रधान, केदार शिवाकोटी र विष्णु पौडेल चयन भएका छन्।

निर्वाचन सम्पन्न गराएपछि निर्वाचन अधिकृत डा. तुलसी धरेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। संस्थाका निवर्तमान अध्यक्ष विजय पौडेलले संस्थालाई अझ मजबुत बनाउन सबै सदस्यहरूको सक्रियता अपरिहार्य रहेकोमा जोड दिए।

पदभार ग्रहण गरेसँगै नवनिर्वाचित अध्यक्ष गोकर्ण लामिछानेले संस्थालाई अनुभव साटासाट गर्ने र मार्गदर्शन गर्ने साझा थलोको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले तामझाम भन्दा पनि ठोस र व्यवस्थित कामलाई प्राथमिकता दिने बताए। लामिछानेले आगामी दिनमा ‘मेम्बरसिप ड्राइभ’ (सदस्यता विस्तार) लाई अभियानकै रूपमा अगाडि बढाउने र नेपाली व्यावसायिक समुदायलाई एकीकृत गरी उनीहरूका मुद्दालाई बलियोसँग सम्बन्धित निकायमा पुर्‍याउने लक्ष्य राखेका छन्।

नेपाल र क्यानाडाको व्यावसायिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन दुवै देशका सरकारसँग समन्वय गर्ने लामिछानेको योजना छ। उनले क्यानाडामा व्यवसाय सुरु गर्न चाहने नेपालीहरूका लागि ‘स्टार्टअप’ प्रक्रियामा सहयोग गर्ने, आधारभूत जानकारी उपलब्ध गराउने र सफल व्यवसायीहरूसँग सञ्जाल विस्तार गर्ने कार्यलाई प्रमुखता दिने बताए। साथै, नेपाल सरकारको विदेशमा रहेका नेपालीहरूको लगानी भित्र्याउने नीतिलाई आत्मसात् गर्दै क्यानाडाबाट मातृभूमिको अर्थतन्त्रमा कसरी ठोस योगदान पुर्‍याउन सकिन्छ भन्ने विषयमा टिमले काम गर्ने उनले स्पष्ट पारे।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्