एक्सक्लुसीभ

मोरङमा चुनावी सरगर्मी बढ्यो, डा. शेखर कोइरालाको पक्षमा चुनावी लहर

बिराटनगर । प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै मोरङ ६ मा चुनावी सरगर्मी बढेको छ । यहाँ साबिकका प्रतिद्वन्द्वी नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दलका १४ जना र स्वतन्त्र तीन गरी १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यद्यपि निवर्तमान सांसद एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र एमालेका नेता विनोदप्रसाद ढकालबिच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । यद्यपि मोरङको राजनीतिमा कांग्रेस र कोइराला परिवारको प्रभुत्व रहँदै आएको छ ।

स्वर्गीय बिपी कोइराला, गिरिजाप्रसाद कोइरालाले राजनीति गरेको मोरङमा डा शेखर कोइरालालाई कांग्रेसको मात्र होइन, कोइराला परिवारको राजनीतिक विरासत पनि जोगाउनुपर्ने दबाब छ । त्यसो त विगतका निर्वाचनलाई हेर्ने हो भने मोरङ ६ कांग्रेसका लागि चुनाव त्यति अप्ठ्यारो क्षेत्र मानिँदैन तर जेनजी विद्रोहपछि पुरानादलप्रति केही वितृष्णा देखिएको छ । कांग्रेस, एमालेले विगतमा पाएको मत नै बाढिएर नयाँ दललाई जाने अनुमान गरिएको छ तर पुराना दलका नेताहरू पार्टी पुनः पूर्वअवस्थामा फर्किएको दाबी गर्छन् ।

नेपाली कांग्रेस मोरङ ६ का क्षेत्रीय सभापति देवराज तामाङ भन्छन, “कांग्रेसमा उम्मेदवार को हुने भन्ने आन्तरिक विवाद थिएन । एकल नाम सिफारिस भएको हो । उम्मेदवारमा विवाद नभएकाले पार्टीभित्र कुनै मतभेद छैन । सबै तहका नेता कार्यकर्ता चुनावी अभियानमा होमिइ सक्नुभएको छ । विकास निर्माणभन्दा पनि कानुन निर्माण, सुशासन र स्थानीय तहलाई सक्षम र सशक्त बनाउने, संविधान संशोधन गरेर जेनजीका माग पूरा गर्ने, प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने एजेन्डाका साथ कांग्रेस मतदातासँग पुगिरहेको क्षेत्रीय सभापति तामाङले बताएका छन् । यहाँ एमालेसँग प्रमुख प्रतिस्पर्धा हुने तामाङको भनाइ छ । मोरङ ६ का कांग्रेस नेता एवं राष्ट्रिय सभाका पूर्व सांसद रमेशजङ्ग रायमाझी पनि डा. कोइराला नेपाली कांग्रेसको उम्मेदवार मात्र नभई पार्टीको राजनीतिक विरासतसँग जोडिएको व्यक्ति भएकाले सहजै जित्ने दावी गर्छन ।

नेकपा (एमाले) का उम्मेदवार विनोदप्रसाद ढकाल पनि प्रमुख प्रतिस्पर्धा एमाले र कांग्रेसबिच नै हुने बताउनुहुन्छ । ढकालले भने, “एमालेको पनि राम्रो चुनावी लहर छ । अहिले कार्यकर्ता साथीहरूसँग भेटघाट चलिरहेको छ । पार्टीको चुस्त र सुदृढ सङ्गठन र विगतमा एमालेले गरेका काम र आगामी दिनमा गरिने विकास निर्माण र कानुन निर्माणलाई उहाँले एजेन्डा बनाउनुभएको छ । ढकालले फागुन ४ गते आफ्नो घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।

नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३१ वर्षीय रुविना आचार्य उम्मेदवार छन् । आचार्यको चुनावी मोर्चा समालिरहेका प्रदीप उप्रेतीले भने, “धेरै मतदाताबाट दल नफेरिकन पनि रास्वपामा मतदान गर्ने प्रतिबद्धता पाएका छौँ । हाम्रो जितको आधार नै यही हो ।” उप्रेतीले कांग्रेस उम्मेदवार डाक्टर शेखर कोइराला रास्वपाको प्रमुख प्रतिस्पर्धी भएको दाबी गरे । आममतदाता पुराना दलसँग रुष्ट छन् । भ्रष्टाचार नरोकिएको, सुशासन नभएको र विकास निर्माणका काम पनि नभएको रास्वपाको ठहर छ ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओपेन्द्रकुमार रायले आफू मजदुरहरूको प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धा गरिरहेको र यस निर्वाचन क्षेत्रमा औद्योगिक मजदुर धेरै भएकाले निर्वाचन जित्ने दावी गरे । रायले भने, “मधेशी, आदिवासी, मुस्लिम र पछाडि परेका नागरिकको प्रतिनिधित्व मैले गरिरहेको छु । नेपाली कम्युनिस्ट पार्टी नयाँ भएर आएको छ । पार्टीप्रतिको आकर्षण बढेको उहाँको दाबी छ ।” उज्यालो नेपाल पार्टीको उम्मेदवार २५ वर्षीय वसन्त बुढाथोकीले स्थानीयस्तरमा रोजगार वृद्धि गर्ने एजेन्डासहित मत मागिरहेको र उज्यालो नेपालको जित सुनिश्चित रहेको दाबी गरे ।

स्मरणीय छ, यस निर्वाचन क्षेत्रबाट यस अघि नेपाली काँग्रेस वरिष्ठ नेता डा शेखर कोइराला निर्वाचित भएका थिए भने यस पटक पनि प्रारम्भिक चुनावी लहरले एमालेसंगको प्रतिष्पर्धामा भारि मतान्तरले कोइरालानै विजयी हुने स्थानिय राजनीतिक अगुवाहरुको दावी छ ।

मोरङ ६ मा विराटनगर महानगरपालिकाका सात वटा वडा, बुढीगङ्गा गाउँपालिकाका पूरै सात वटा वडा र सुन्दरहरैँचा नगरपालिकाका छ वटा वडा गरी २० वटा वडा पर्छन् । २०७९ को स्थानीय निर्वाचनमा महानगरका चार वटा वडामा बुढीगङ्गा गाउँपालिकाका पाँच वटा वडामा र सुन्दरहरैँचाका तीन वटा वडामा नेपाली कांग्रेसले चुनाव जितेको थियो । यस्तै एमालेले महानगरका दुई, बुढीगङ्गाको एक र सुन्दरहरैँचाको दुई वडामा चुनाव जितेको थियो । तत्कालीन माओवादी केन्द्रले बुढीगङ्गाको एउटा र जनता समाजवादी पार्टीले महानगरको एउटा वडामा चुनाव जितेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्