नेपाल

राष्ट्रियसभाको अधिवेशन आजदेखि

काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।

अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसक्नुभएको छ । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको थियो । गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ । राष्ट्रियसभा सदस्यमा एक जना निर्विरोध निर्वाचित भइसक्नुभएको आयोगले जनाएको छ । प्रतिनिधिसभाको निर्वाचनको तयारी अगाडि बढिरहेको र राष्ट्रियसभामा पनि नयाँ सदस्यहरू निर्वाचित भएर आउन लागेको अवस्थामा यो अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्