नेपाल

बाढी पहिरोका कारण पच्चिस जिल्लामा यातायात सञ्चालनमा रोक

काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढीपहिरो र डुबानको जोखिम बढेपछि सडकदेखि बस्तीसम्म जनजीवन प्रभावित बनेको छ । नदी तथा खोलामा पानीको बहाब बढ्दा तटीय बस्ती डुबानको जोखिममा परेका छन् भने पहाडी क्षेत्रमा बाढीपहिरो र लेदोले सडक तथा यातायात अवरुद्ध बनाएको छ ।

गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मुख्यालयआसपास क्षेत्रमा पुगी खोला तथा पानीको बहाबको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिनुभएको छ । सो क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सुरक्षाकर्मी उच्च सतर्कतासाथ कार्यक्षेत्रमा खटिएका प्रतिक्रिया दिनुभयो ।

जोखिम बढेपछि पश्चिम नेपालका २५ जिल्लामा शुक्रबार र शनिबार सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमको स्तर अनुसार यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जोखिमको स्तर अनुसार जिल्लालाई विभिन्न क्षेत्रमा वर्गीकरण गरी सवारी आवागमन व्यवस्थापन गर्न भनिएको छ । यातायात पूर्ण बन्द भएका जिल्लामा सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन् ।

त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङ्जामा पनि दुई दिन सवारी आवागमन रोक्न भनिएको छ ।

त्यसै गरी अत्यधिक वर्षाको सम्भावना रहेका थप ३० जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालन बन्द गर्न भनिएको छ । बाँकी २२ जिल्लामा पनि वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यसमा कोशी र मधेश प्रदेशका अधिकांश जिल्ला तथा बागमती प्रदेशका मकवानपुर र सिन्धुली परेका छन् ।

मकवानपुरगढीमा खोलाले बगाउँदा ५० वर्षीय श्यामबहादुर स्याङ्तानको मृत्यु भएको छ । भक्तपुरको लोकन्थलीमा हनुमन्तेखोलाको बाढीबाट डुबानको जोखिम बढेपछि १६ घरपरिवारका ९८ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

नवलपरासीपश्चिममा नारायणी नदीको पानी बस्तीमा पसेपछि करिब चार सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार काठमाडौँ उपत्यकामा मनोहरा, बागमती र विष्णुमतीलगायतका नदी तथा खोलामा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

रसुवा, धादिङ, चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड तथा काभ्रेको रोसी गाउँपालिकालगायतका क्षेत्रमा बाढीपहिरोले जनजीवन कष्टकर बनेको छ ।

सिन्धुलीमा रोसीखोलामा आएको बाढीले बस्ती प्रभावित भएको छ भने ओखलढुङ्गाका विभिन्न स्थानमा लेदोसहितको बाढीले आवतजावतमा कठिनाइ भएको छ ।

मनाङको चामे–बेँसीसहर सडक, गुल्मीको सिस्नेभिर–रुद्रबेनी–वामीटक्सार तथा रोल्पाको घोराही–थबाङ–रुकुम सडकखण्डका विभिन्न स्थान बाढीपहिरोका कारण प्रभावित भएका छन् ।

पाल्पामा पहिरोले दुई घरमा क्षति पुर्‍याउनुका साथै एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ । सोलुखुम्बुमा बाढीपहिरो र हिमपहिरोको जोखिममा रहेका ३८ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्