झिंगे दाउ २ को ‘आमा भए पो स्वर्ग हुन्छ घर’ गीत सार्वजनिक
काठमाडौं । असोज २ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘झिंगे दाउ २’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माणपक्षले जनाएको छ । फिल्मको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति तथा गीतसंगीतलाई दर्शकले रुचाएका छन् ।
फिल्म रिलिज भएको एक सातापछि निर्माणपक्षले नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरेको छ । गीतमा कुशल बेलबासेको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।
मार्मिक भावको गीतमा आमा घरमा नहुँदाको पीडा प्रस्तुत गरिएको छ । आमाको उपस्थितिले घरमा पार्ने प्रभाव र आमा हुँदा घर कस्तो हुन्छ भन्ने भाव गीतमा समेटिएको छ ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन् ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय छ।