एक्सक्लुसीभ

विशेष महाधिवेशन तत्काल रोक्न कांग्रेसको अपिल

ललितपुर । नेपाली कांग्रेसले पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन तत्काल रोक्न अपिल गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमित र विशेष महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै भएको प्रस्ट पार्दै विशेष महाधिवेशन रोक्न अपिल गरेको हो ।

बैठकपछि केन्द्रीय सदस्य नारायणप्रकाश साउदले केन्द्रदेखि वडा कार्यसमितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण नेताकार्यकर्ता पङ्क्तिलाई पुस २७ र २८ गतेका लागि तय भएको विशेष महाधिवेशनमा उपस्थित नहुन अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार विधानले नदिएका कारण तोकिएको उक्त कार्यक्रम रोक्न अनुरोध गरिएको बताउनुभयो ।

बैठकपछि कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विद्यमान परिस्थितिमा पार्टी एकताको पक्षमा उभिएर नियमित महाधिवेशनलाई सफल बनाउन एकजुट हुनु सबैको साझा जिम्मेवारी रहेको निष्कर्ष बैठकले निकालेको बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित महाधिवेशनले पार्टीका सबै तहमा नेतृत्वको निर्वाचन गर्न नै पर्छ तर हतारोमा गरिने कुनै पनि कामले पार्टीको एकतामा आघात पुग्ने छ । तसर्थ विशेष महाधिवेशन भनी बोलाइएको भेला तत्काल रोक्न अपिल गर्ने निर्णय भएको छ ।”

पौडेलले पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय समितिलाई मात्र रहेको प्रस्ट पार्ने निर्णय भएको बताउनुभयो । उहाँले पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा बोलाएको अधिवेशन वा विशेष महाधिवशेनका नाममा गरिने कुनै पनि गतिविधि विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यलाई अपिल गर्ने निर्णय भएको बताउनुभयो ।

पौडेलले निर्वाचनपछि हुने नियमित महाधिवेशनमा सबै खाले सुधारका एजेन्डा खुला छलफलमा ल्याउन सकिने, देश, लोकतन्त्रलाई थप मजबुत बनाई आर्थिक समृद्धिको दिशामा अग्रसर बनाउने दृष्टिकोण वैचारिक रूपमा दृढ सङ्कल्पसाथ जनसमक्ष प्रस्तुत गर्नुपर्ने र आमनिर्वाचनमार्फत जनअनुमोदन प्राप्त गर्न सकिन्छ र गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको बताउनुभयो । उहाँले मङ्सिर १५ गतेको महाधिवेशनको कार्यतालिका पुस १८ गतेको कार्यसम्पादन समितिको बैठकले संशोधन गरी १५ औँ महाधिवेशन २०८३ वैशाख २८–३१ गते तोकेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “तसर्थ पार्टीको विधान अनुसार १५ औँ महाधिवेशनको कार्यतालिकाबमोजिम नियमित महाधिवेशनको आवश्यक प्रव्रिmया अघि बढिसकेको पृष्ठभूमिमा अवैधानिक ढङ्गबाट आह्वान गरिएको विशेष महाधिवेशन वैधानिक हुन सक्दैन । साथै वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हितमा छैन ।”

कांग्रेस बैठकले विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने, विशेष महााधिवेशनको मागलाई अगाडि बढाउँदा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई क्षति पुग्ने र देश अस्थिरतातर्फ धकेलिने सम्भावनालाई हृदयङ्गम गर्दै कांग्रेसले एकताबद्ध भएर आमनिर्वाचनको तयारीमा जुट्न आग्रह गरेको छ । बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले बोल्नुभएको थियो ।

‘नीति र नेतृत्व परिवर्तन गर्नु पर्छ’

कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीको नेतृत्व र नीति परिवर्तन गरी रूपान्तरणको प्रक्रिया आरम्भ गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि उहाँले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गर्ने अपेक्षा रहेको बताउँदै त्यही कारण महाधिवेशन प्रतिनिधि बोलाइएको प्रस्ट पार्नुभयो ।

उहाँले विशेष महाधिवेशनले पार्टीमा कुनै असर नपर्ने बताउनुभयो । उहाँले पार्टी विभाजनको बहस नगर्न आग्रह गर्नुभयो । उहाँले पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले निर्देशन दिएकै कारण विशेष महाधिवेशन आह्वान गरिएको बताउनुभयो । उहाँले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन निम्तो गरिएको जानकारी दिनुभयो ।

सभापति देउवा र डा. कोइरालाबिच छलफल

कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबिच परामर्श भएको छ । डा. कोइरालाले सभापति देउवालाई विशेष महाधिवेशनको निकासका सन्दर्भमा निर्णय गर्न र विशेष महाधिवेशन पक्षधरसँग संवाद गर्न आग्रह गर्नुभयो । डा. कोइरालाको सचिवालयका अनुसार उहाँहरूबिच पछिल्लो राजनीतिक परिस्थिति र पार्टीमा देखिएका समस्याका सन्दर्भमा छलफल भएको छ । डा. कोइरालाको आग्रहपछि सभापति देउवाले सबैसँग संवाद गरेरै निकास निकाल्न आफू तयार रहेको प्रस्ट पार्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.