नेपाल

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने चटाराे

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगमा सामेबार राजनीतिक दलको लाम लागेको छ । 

दिनभर समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा राख्ने उम्मेद्वारको छनोटमा व्यस्त राजनीतिक दल दिउँसो ४:०० बजेअघि नै आयोग पुगेका थिए । आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न लाममा बसेका हुन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको नाम बुझाउन आयोग परिसर पुग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यसअघि दलले सार्वजनिक गरेको उम्मेद्वार छनोट मापदण्डका आधारमा सूची तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । संसदीय अभ्यासको कार्यशैली बदल्नुपर्नेमा पार्टीभित्र एकमत रहेको पनि उहाँले सुनाउनुभयो ।

संसदीय अभ्यासको योग्यता, क्षमता भएका नयाँ पुस्तालाई उम्मेद्वार बनाइएको नेता विश्वकर्माको भनाइ थियो । प्रत्येक प्रदेशबाट युवा उमेर समूहका दुईदेखि तीन जनालाई सूचीमा समावेश गरिएको कांग्रेसले जनाएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले विगतमा समानुपातिक सूचीमा परेका, मन्त्री भएका, प्रत्यक्ष निर्वाचनतर्फ जितेकालाई यसपटक बन्द सूचीमा समावेश नगरिएको जानकारी दिनुभयो ।

पार्टीले ११० जनाको सूची समावेशी सिद्धान्तका आधारमा बुझाउने तयारी गरिएको उहाँले बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा मूल लक्ष्य बनाएर पार्टी चुनावमा जान लागेको नेता पाण्डेको भनाइ थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन प्रगतिशील लोकतान्त्रिक पार्टीका सुदन किराती र सन्तोष परियार, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको तीन दलीय मोर्चाका तर्फबाट राजेन्द्र महतो, अशोक राई र रेशम चौधरी पनि आयोग पुग्नुभएको थियो ।

निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न सुरु भएको हो । पहिलो दिन आइतबार केही साना दलका तर्फबाट मात्र बन्दसूची पेस भएको थियो ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले आज बन्दसूची बुझाउन लागेका हुन् । समानुपातिकतर्फको बन्दसूची बुझाउन ती दलले आज बैठक पनि आयोजना गरेका थिए ।

आइतबार तीन दलका १३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्दसूची पेस गरेका थिए । ती दलले निस्सा लिएर दर्ता प्रक्रिया पूरा गरेका हुन् । उम्मेद्वारको नाम मतदाता सूचीमा छ, छैन, मतदाता नम्बर एवं नागरिकतालगायत कागजात हेरेर आयोगले निस्सा दिएपछि बन्दसूची पेस गरिएको थियो । आज साँझ ५:०० बजेसम्म करिब एक दर्जन दलले सूची बुझाएको आयोगले जनाएको छ ।

राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्दसूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने आयोगका  प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ ।

पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्दसूची प्रकाश गरिने छ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्पmको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेद्वारको सूची पेस गर्न पाउने छन् । दलले ११ देखि ११० जनाको बन्दसूची बुझाउनुपर्छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । मतदाताले समानुपातिक र प्रत्यक्षको दुई वटा मतपत्रमा मतदान गर्छन् । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.