डायस्पोरा

एनइसीसीको २५ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

वाशिंगटन। नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टर (एनइसीसी) ले स्थापनाको २५ औं वर्ष सेनेका भ्याली हाइ स्कुल मेरिल्याण्डमा भव्यताका साथ मनाएको छ।
“संस्कृतिको संरक्षण • पुस्तालाई सशक्त बनाउने” भन्ने मुल नारासहित आयोजित कार्यक्रममा नेपाली समुदायका सदस्य, स्थानीय सरकारका प्रतिनिधि तथा विभिन्न अतिथिको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात पण्डितद्वारा स्वस्ति वाचन गरेर गरिएको थियो। त्यसपछि अमेरिकामै जन्मिएका कन्याहरूले प्रस्तुत गरेको बन्दना नृत्यले सभालाई आध्यात्मिक र सांस्कृतिक वातावरणमा डुबाउँदै औपचारिक थालनी गरियो।

उद्घाटन समारोहमा एसोसियसन अफ नेपालिज इन अमेरिका, (एएनए) का पूर्व अध्यक्षहरू डा. हरिहर शर्मा, डा. श्यामधोज कार्की र कृष्ण निरौला बरिष्ठ समाजसेबी राम मालाकारले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

यस प्रतीकात्मक उद्घाटनले संस्थाको विगत, वर्तमान, र भविष्यलाई जोड्ने महत्व बोकेको थियो। एनइसीसी का अध्यक्ष प्रज्वल रेग्मीले सबै अतिथिहरूलाई स्वागत गर्दै संस्थाको २५ वर्षको यात्रालाई स्मरण गरे।

उनले भने, “यो उपलब्धि हाम्रो सामूहिक मेहनत र सहयोगको परिणाम हो। भविष्यमा पनि एनइसीसी ले नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने र समुदायलाई अझ सशक्त बनाउने संकल्प गर्दछ।”

म्यान्टगोमेरी काउन्टीका कार्यकारी मार्क इरिकले एनसीसीका अध्यक्षलाई सम्मानपत्र प्रदान गरे। उनले भने, “पहिले यस काउन्टीमा सेतो जनसंख्या बहुमतमा थियो, तर अहिले एशियाली समुदायको उल्लेखनीय उपस्थिति देखिएको छ। नेपाली समुदायको मेहनत र योगदानले काउन्टीलाई ठूलो फाइदा पुर्याएको छ।”

उक्त सम्मानपत्रलाई एनइसीसी का निवर्तमान अध्यक्षहरू डा. महेन्द्र कार्की, सरोज प्रजापति, र खिलेन्द्र मणि न्यौपानेले गर्वपूर्वक स्वीकार गर्दै समुदायको योगदानलाई साझा उपलब्धि भएकाे बताए।

कार्यक्रममा एनइसीसी का अकाउन्टेन्ट लक्ष्मण प्रधानले संस्थाको आय-व्ययको विस्तृत विवरण प्रस्तुत गर्दै पारदर्शिता र उत्तरदायित्वलाई जोड दिए।

सांस्कृतिक प्रस्तुति अन्तर्गत प्रस्तुत नेपाली सांगीतिक नृत्यहरूले दर्शकहरूको ध्यान आकर्षित गरे। नृत्य, गीत, र कला प्रदर्शनले नेपाली संस्कृतिको विविधता र सौन्दर्यलाई उजागर गर्यो।

वार्षिकोत्सवको पूर्वसन्ध्यामा, ८ नोभेम्बर २०२५ मा एनइसीसी मन्दिरमा सामुहिक शान्ति कलश यात्रा तथा रुद्री पूजा आयोजना गरिएको थियो।

यसरी एनइसीसीको २५औं वार्षिकोत्सवले नेपाली समुदायलाई एकै ठाउँमा ल्याएर संस्कृतिको संरक्षण, सामुदायिक एकता, र भावी पुस्तालाई प्रेरित गर्ने अवसर प्रदान गर्यो। स्थानीय सरकारको मान्यताले यस संस्थाको योगदानलाई अझ मजबुत बनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.