अर्थ

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

पर्सा। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिनुभयो । “वीरगञ्ज नाका हुँदै पछिल्लो तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड मूल्यको सामान भित्रिँदा ५८ अर्ब २३ करोड राजस्व सङ्कलन भएको छ ।” जबकि गत आवको तीन महिनाको सोही अवधिमा एक खर्ब ८३ अर्ब ८७ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको तीन महिनामा यो नाका हुँदै आयातमात्रै नभएर निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्जनाका हुँदै चालु आवको तीन महिनामा २६ अर्ब ५८ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

जबकि गत आवको तीन महिनाको सोही अवधिमा आठ अर्ब ८४ करोड मूल्यबराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो । रकमका आधारमा गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १७ अर्ब ७५ करोड बढीले निर्यात भएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्