एक्सक्लुसीभ

कमल पोखरीस्थित पूजा घाटमा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ

काठमाडौँ । काठमाडौँको कमल पोखरीस्थित छठ पूजा घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । 

काठमाडौँ महानगरपालिका वडा नम्बर एकको प्रमुख व्यवस्थापन रहेको कमल पोखरीमा ५ सय ५ छठ पूजा घाट व्यवस्था गरिएको छ ।

विगत १५ वर्षदेखि छठ पूजा हुँदै आएको कमल पोखरीमा ५०५ घाट रहे पनि आएका व्रतालुहरूले फर्केर जान नपरोस् भनी ५सय ५० व्रतालुका लागि निःशुल्क स्थल उपलब्ध गराइएको छठ पूजा व्यवस्थापन समितिका सल्लाहाकार जितेन्द्र झाले जानकारी दिनुभयो ।

काठमाडौँमा चिसो बढ्दै गएकाले पोखरीको वरिपरि पाल टाँगिएको छ । पोखरीको चारैतिर फूलमालाले सजाइएको छ । यस वर्ष मुलुकमा बाढी पहिरो र जेनजी आन्दोलनमा निधन भएकाहरूको शोक रहेका कारण यसपाली झिलिमिली बत्ती नबालिएको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ ।

छठ पूजामा तराइ मधेशका महिलाहरू बढी रहेका छन् भन् केही पुरुषसँगै युवाहरू पनि छठ पूजा घाटमा उल्लेख्य मात्रामा आएका छन् । काठमाडौँका नेवार समुदायदेखि पहाडी समुदायका महिलाहरू पनि छठ पूजा घाटमा बसेका देखिन्छन् ।

कमल पोखरीको पूर्वी र पश्चिमी ढोकाबाट व्रतालुलाई भित्र छिर्ने व्यवस्था गरिएको छ । छठ पूजा स्थलमा निःशुल्क स्वास्थ्य शिविर, नागरिक सहायता कक्ष पनि राखिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले त्यहाँको सुरक्षा व्यवस्थापन गरेको छ ।

व्रतालुसँगै छठ पूजा गरेको हेर्नेहरूको पनि भिड लागेको छ । आज साँझदेखि भोलि बिहानसम्म कमल पोखरीमा करिब ५० हजार भक्तजनहरू आउने पूजा व्यवस्थापन समितिले जनाएको छ ।

छठ पूजा हेर्न विदेशी पर्यटकहरू समेत उल्लेख्य मात्रामा उपस्थित भएका छन् ।

आज प्रधानमन्त्री सुशीला कार्कीले कमल पोखरीस्थित छठी माताको मूर्तिमा दर्शन गर्नुका साथै अस्ताउँदो सूर्यलाई अर्घ दिएर सूर्यको उपासना गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्