एक्सक्लुसीभ

मेची–महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार

सुनसरी।मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार गरिएको छ ।

सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । झापाबाट नौ जनाको उद्धार गरिएकामा चार पुरुष, पाँच महिला, मोरङबाट सात जना जसमा छ पुरुष, एक महिला र सुनसरीका विभिन्न ठाउँबाट ३२ जनाको उद्धार गरिएको छ । जसमा २६ पुरुष र छ जना महिलाको उद्धार गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

उद्धार गरिएका सडक आश्रित मानवहरूलाई मानवसेवा आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । जसमध्ये १५ जनालाई झापा शाखा, १२ जनालाई विराटनगर शाखा तथा २१ जनालाई धरान शाखामा राखिएको छ ।

वर्षायाम नजिकिँदै जाँदा सडकपेटी, मन्दिर परिसर, सार्वजनिकस्थल तथा खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धारलाई तीव्र बनाइएको अधिकारीको भनाइ छ । वर्षात्को समयमा कसैले सडकपेटीमा बस्न नपरोस् भन्ने उद्देश्यसहित सञ्चालन गरिएको यात्राले विभिन्न जिल्लामा सकारात्मक सन्देश प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।

उद्धार गरिएका सडकआश्रित मानवहरूको आश्रय, भोजन, स्वास्थ्योपचार, मानसिक तथा भावनात्मक सहजीकरणका साथै सम्भव हुने व्यक्तिहरूको पारिवारिक पुनर्मिलनसमेत गरिँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा वैशाख २९ गते झापाको काँकरभिट्टास्थित मेची पुलबाट सुरु गरिएको यात्रा मोरङ र सुनसरी हुँदै कोशी प्रदेशको तीनदिने कार्यक्रम सम्पन्न गरी आज (शुक्रबार)देखि मधेस प्रदेशमा केन्द्रित हुने जनाइएको छ ।

उद्धार अभियान यही जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । अभियानमा आनी छोइङ डोल्मासहित २४ जना स्वयंसेवक टोली सहभागी छन् । परिवार वा आफन्तको आश्रय पाउन नसकी सडकमा जीवन बिताइरहेका नागरिकको उद्धार गरी विभिन्न जिल्लास्थित आश्रममा पुनःस्थापित गरिँदै आएको अध्यक्ष अधिकारीले बताउनुभयो । हाल मानवसेवा आश्रमका सातै प्रदेशका १९ जिल्लामा २३ शाखा सञ्चालनमा छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्