एक्सक्लुसीभ

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जनकपुरमाथि पाँच विकेटको जित निकालेको हो । जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

काठमाडौँको जितमा बेन चाल्र्सवर्थले ४६ रन बनाए । उनले २३ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाए । यसैगरी आकाश त्रिपाठीले ३९ रन बनाए । मिलिन्द कुमारले १९ रन बनाए भने जोहन सिम्पसनले १३ रन जोडे ।

बलिङतर्फ जनकपुरका किशोर महतो, अनिल साह, सञ्जय कृष्णमूर्ति र ललित राजवंशीले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रनको योगफल बनाएको थियो ।

जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाएका हुन् । यस्तै, मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए । लाहिरु मिलन्था सात रनमा आउट भए ।

काठमाडौँ गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक/एक विकेट लिए ।

यसअघि भएको पहिलो संस्करणको खेलमा भने जनकपुरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको थियो ।

आजदेखि सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले टोलीले रु करोड १० लाख पाउने छ । दोस्रो हुनेले रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो हुनेले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ ।

मङ्गलबारको पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुनेछ । पहिलो खेल बिहान ११ः४५ बजे हुनेछ भने दोस्रो खेल दिउँसो ४ः०० बजे हुनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्