राष्ट्रपति ट्रम्पको चुनाव अभियानको भिडियोबाट टेलर स्विफ्टको गीत ‘अगस्ट’ हटाइयो
लस एन्जलस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानको टिकटक एकाउन्टमा चार दिनअघि पोस्ट गरिएकोटेलर स्विफ्टको ‘अगस्ट’ गीत समावेश भएको भिडियोबाट उक्त गीतको ध्वनि हटाइएको छ।
आधिकारिक ‘@TeamTrump’ टिकटक एकाउन्टमा चार दिनअघि पोस्ट गरिएको उक्त भिडियोमा ट्रम्प र मेलानिया ट्रम्प बार्दलीमा उभिएर हेरिरहेको देखिन्थ्यो। भिडियोमा लेखिएको थियो, “अहिलेको माहोल: किनकि यो अगस्ट महिना हो र डोनाल्ड ट्रम्प तपाईंका राष्ट्रपति हुनुहुन्छ।”
यसको क्याप्सनमा सुरुमा लेखिएको थियो, “मलाई पक्का विश्वास छ कि हामीले उनको गीत प्रयोग गरेकोमा @TaylorSwift निकै उत्साहित हुनुहुनेछ! #taylorswift #maga #august”
प्रशंसकहरूले स्विफ्टको सन् २०२० को एल्बम ‘फोल्कलोर’मा समावेश ‘अगस्ट’ गीत भिडियोबाट हटाइएको कुरा थाहा पाए पछि आश्चर्यमा परेका छन् । अमेरिकामा टिकटक हेर्दा उक्त पोस्टमा यस्तो सन्देश देखिन्छ: “प्रतिलिपि अधिकार (कपीराइट) का मालिकले यो ध्वनि तपाईंको देशमा उपलब्ध गराउनुभएको छैन।”