राजनीति

पार्टीको आत्मा र आदर्श जोगाएर काँग्रेसलाई एकताबद्ध बनाउँछु: सभापति थापा

भक्तपुर। नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम राख्दै संगठनलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

दिवंगत नेता श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति थापाले पार्टीभित्रका असमझदारीहरूलाई मिलाएर एक ढिक्का बनाउने बताउनुभयो। “कांग्रेसलाई नयाँ बनाउनु भनेको यसको ऐतिहासिक जग पहिल्याउनु र मौलिकतामा फर्किनु हो,” उहाँले भन्नुभयो।

सभापति थापाले आज बस्ने पदाधिकारी बैठकले केन्द्रीय कार्यसमितिको एजेन्डा तय गर्ने र भोलिदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकताका सन्दर्भमा महत्वपूर्ण निर्णय लिने जानकारी दिनुभयो।

सत्ता र शक्तिका लागि सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको कुनै अर्थ नरहने उल्लेख गर्दै उहाँले भन्नुभयो, “कांग्रेसलाई सत्ता र शक्ति चाहिन्छ, तर त्यो केवल नागरिकको भलोका लागि मात्र हो। सत्ता र शक्ति पार्टीका लागि लक्ष्य होइन, साधन मात्र हुन्।” उहाँले विगतमा त्यागी नेताहरूले प्रजातन्त्र प्राप्तिका लागि सत्ताको कुनै प्रवाह नगरी निरन्तर संघर्ष गरेको स्मरण गराउनुभयो।

राजनीति सेवाभाव र नागरिक अधिकारका लागि गरिनुपर्नेमा जोड दिँदै उहाँले कहिलेकाहीँ सत्ताबाहिर बसेर पनि जनताको सेवा गर्नुपर्ने धारणा राख्नुभयो। पद सफलताको मानक नभएको स्पष्ट पार्दै नागरिकको विश्वास आर्जन गर्नु नै वास्तविक सफलता भएको उहाँको भनाइ थियो।

सभापति थापाले नेपाली कांग्रेसलाई सबैले गर्व गर्न लायक पार्टी बनाउने दाबी गर्नुभयो। साथै, उहाँले जननायक बिपी कोइरालासँग आफ्नो सम्बन्ध ईश्वर र भक्तको जस्तै रहेको उल्लेख गर्नुभयो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्