अर्थ

नेपालबाट तीन करोड जोर जुत्ता विदेश निर्यात

काठमाडौँ । नेपालबाट प्रत्येक वर्ष तीन करोड जोर जुत्ता विदेश निर्यात हुँदै आएको छ । 

जुत्ता उत्पादक सङ्घका महासचिव निर्मल भट्टराईले आज एक विज्ञप्ति जारी गरी नेपाल जुत्तामा आत्मनिर्भर भएको जानकारी दिनुभयो ।

“नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादन क्षमता छ । वार्षिक रूपमा तीन करोड जोर जुत्ता निर्यात हुँदै आएको छ”, उहाँले भन्नुभयो । आन्तरिक उपभोगको ७० प्रतिशत हिस्सा नेपाली जुत्ताले ओगटेको सङ्घले जनाएको छ ।

स्वदेशी उत्पादन, निर्यात र आन्तरिक खपत बढाउने लक्ष्यका साथ अघि बढिरहेको सङ्घले यही चैत २९ र ३० गते काठमाडौँमा हुन लागेको नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत कार्यसमितिको सदस्यमा सङ्घका अध्यक्ष सुरज बन्जाडेलाई अघि सारेको छ । मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना, निर्यातलगायत क्षेत्रमा जुत्ता उत्पादक सङ्घले महत्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल जुत्ता उत्पादनमा आत्मनिर्भर हुनाका साथै जुत्ता निर्यातमार्फत वैदेशिक मुद्रा आर्जन गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आइएको सङ्घका महासचिव भट्टराईले बताउनुभयो । जुत्ता उत्पादन र निर्यातका क्रममा देखिएका समस्यालाई नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत समाधान र खबरदारी गर्नका लागि अध्यक्ष बन्जाडेलाई महासङ्घको सदस्यमा आफूहरूले अघि सारेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाली जुत्ता उद्योगको विकास, संवर्द्धन र नेपाली जुत्ताको बजार प्रवर्द्धन आजको मुख्य आवश्यकता भएको जनाउँदै सङ्घले राखेको लक्ष्यलाई प्राप्त गर्न महासङ्घमा अध्यक्षको सशक्त प्रतिनिधित्व हुनु जरुरी रहेको महासचिव भट्टराईले बताउनुभयो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्