एक्सक्लुसीभ

संवाद मार्फत आफैँ समाधान खोज्न गुटेरेस र नेपालका दुई छिमेकी भारत र चीनको आग्रह

काठमाडौँ । नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घ, मित्रराष्ट्र लगायत अन्तर्राष्ट्रिय मित्र तथा समुदायले शान्तिपूर्ण संवादमार्फत समाधान खोज्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रचनात्मक रूपमा संवादमार्फत समाधान खोज्न आग्रह गर्नुभएको छ । अघिल्ला दिनहरूमा भएको हिंसात्मक प्रदर्शनका क्रममा नेपाली नागरिकले ज्यान गुमाउनु दुःखद रहेको भन्दै चिन्ता व्यक्त गर्दै गुटेरेसले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको वक्तव्य जारी गरेका छन् ।

गुटेरेसले वक्तव्यमा भनेका छन्, “म नेपालको परिस्थितिलाई नजिकबाट नियालिरहेको छु, नागरिकको जिउज्यानको क्षतिले अत्यन्त दुःखी तुल्याएको छ । निष्पक्ष र गहन छानबिनको आह्वान पनि गर्छु ।” साथै हिंसा थप बढ्न नदिन संयम अपनाउन आग्रह गर्दै संवादको माध्यमबाट रचनात्मक मार्गप्रशस्त गर्न आग्रह गर्दछु ।’

गुटेरेसले नेपाल सरकार तथा सम्बन्धित निकायलाई मानव अधिकार कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै त्यसका लागि आन्दोलन र प्रदर्शन शान्तिपूर्ण तरिकाले गर्दै मानिसको जिउधन र सम्पत्तिको सुरक्षामा कटिबद्ध हुन अपिल गरेका छन् । संयुक्त राष्ट्रसङ्घले सोमबार भएको हिंसात्मक घटनामा केही युवाको ज्यान गएलगत्तै उक्त घटनाले स्तब्ध बनाएको प्रतिक्रिया दिएको थियो । नेपालमा मानव अधिकार हननका त्यस्ता घटना हुनु दुःखद रहेको भन्दै निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन अपिल गरेको थियो ।

संवादको विकल्प छैन

नेपालका दुई छिमेकी भारत र चीनले नेपालमा उत्पन्न परिस्थितिप्रति दुःख प्रकट गर्दै शान्तिपूर्ण प्रदर्शन र संवादको विकल्प नभएको प्रस्ट पारेका छन् । भारत सरकारको तर्फबाट विदेशमन्त्रीद्वारा जारी वक्तव्यमा सोमबारदेखि नेपालमा भइरहेको घटनाक्रमलाई भारतले नजिकबाट नियालिरहेको प्रस्ट पारेको छ । हिंसात्मक प्रदर्शनमा धेरै युवाको ज्यान गएकोमा भारत सरकार अत्यन्तै दुःखी रहेको विदेश मन्त्रालयले जनाएको छ ।

वक्तव्यमा भनिएको छ, “घनिष्ठ मित्र र छिमेकीका रूपमा हामी सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम तथा संवादमार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गर्छौं ।” भारतीय विदेश मन्त्रालयले नेपालमा रहेका भारतीय नागरिकलाई सावधानी अपनाउन र नेपाली अधिकारीले जारी गरेका कदम र निर्देशन पालना गर्न सुझाव दिइएको छ ।

आफैँले समाधान गर्ने विश्वास

चीन सरकारले पनि नेपाल र चीन दुई अभिन्न मित्र रहेको उल्लेख गर्दै यहाँ उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयले वक्तव्यमार्फत नेपाल र चीन दुई मुलुक एक अर्काका परम्पराकालदेखिको छिमेकी मित्र रहेको भन्दै सद्भाव व्यक्त गरेको छ । नेपालमा उत्पन्न यस घरेलु समस्याको सही तरिकाले समाधान गर्दै छिटोभन्दा छिटो आफैँले शान्ति र स्थिरता कायम गर्ने विश्वास चीनले लिएको वक्तव्यमार्फत जनाइएको छ । त्यसै गरी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा उत्पन्न स्थितिप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रदर्शनका क्रममा युवकहरू मारिनु दुःखद रहेको उल्लेख गर्दै उहाँले नेपालको साथमा अमेरिकी सरकार सदैव रहेको सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ । यसै बिच नेपालस्थित विभिन्न मुलुकका दूतावासले पछिल्लो हिंसात्मक घटना र प्रदर्शनले निम्त्याएको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।

सामूहिक वक्तव्य जारी गर्दै दूतावासहरूले भनेका छन्, “हामी काठमाडौँ तथा नेपालका अन्य स्थानमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्छौं । यी घटनाका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौँ घाइते भएकोमा हामी संवेदनशील भएका छौँ ।”

पीडित परिवारजन तथा प्रभावित व्यक्तिप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना वक्तव्यमार्फत गरिएको छ ।

अधिकतम संयम अपनाउन र सुरक्षा अधिकारीलाई जीवन रक्षाका लागि आवश्यक सबै उपाय अपनाउन युरोपेली सङ्घले आह्वान गरेको छ । उत्पन्न मतभेद समाधान गर्न र सबै मौलिक अधिकार कायम राख्ने अवस्था सुनिश्चित गर्न सबै पक्षबिचको संवादलाई जोड दिन वक्तव्यमा भनिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.