एक्सक्लुसीभ

काठमाडौँ । मौलिक जीवनशैली, आफ्नै विशिष्ट खानपान र रहनसहनका साथै विशेष पहिचानयुक्त आदिवासी नेपाली समाजका इन्द्रेणी रङ हुन् । बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं बहुजातीय नेपाली समाजको बनोटलाई अझै सम्पन्न बनाउँदै मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई जोगाइराख्ने आदिवासी नै हुन् । नेपालको संविधानले आदिवासीको प्रतिनिधित्व सुनिश्चित गरेपछि राज्यका हरेक निकायमा नेतृत्व तहमै पुग्दै गर्दा आदिवासी समुदायका अगुवाले आफूलाई धर्तीपुत्रका रूपमा प्रमाणित पनि गर्दै आएका छन् ।

३१ औँ विश्व आदिवासी दिवस मनाउँदै गर्दा संविधान र कानुनी व्यवस्था अनुसार आदिवासीको हकअधिकार सुनिश्चित गरी यस समुदायको बृहत्तर उत्थान र सुदृढीकरणका विषयमा बहस भइरहेको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगरले नेपालको संविधानले आदिवासी समुदायका पक्षमा हकअधिकार स्थापित गरे पनि संविधान संशोधनका क्रममा यसलाई अझै सबल बनाउनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “आर्थिक अन्तरसम्बन्ध र सामथ्र्य, पूर्वधार विकासको अवस्था र सम्भावना, प्राकृतिक स्रोतसाधानको उपलब्धता र प्रशासनिक सुगमताको आधारमा सङ्घीयताको मूल मर्म र भावना अनुसार पुनः संरचित गरी द्वन्द्वको दिगो समाधानका लागि संविधान संशोधन गर्नु पर्छ ।”

अध्यक्ष घर्तीमगरले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम निर्माण गर्दा आदिवासी जनजाति समुदायलाई अनिवार्य समेट्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आदिवासी जनजातिका परम्परागत वेशभूषालाई न्यायोचित सम्मान, संरक्षण, संवर्धन गर्दै सार्वजनिक साथै सरकारी कार्यक्रममा प्रयोग र प्रोत्साहनका लागि आवश्यक कार्यक्रमका लागि पहल गरिएमा आदिवासीको क्षमता अभिवृद्धि हुन्छ र न्यायोचित समाज निर्माणमा योगदान पुग्छ ।”

उहाँले आदिवासी जनजाति समुदायको प्रथाजनित परम्परागत ज्ञान, सिप र पेसा–व्यवसायको संरक्षण प्रवर्धन र न्यायिक प्रणालीको कार्यान्वयनमा कानुनी सुनिश्चितता गर्नुपर्ने पनि बताउनुभयो ।

प्रत्येक वर्ष अगस्ट ९ मा विश्व आदिवासी दिवस मनाइन्छ । नेपाल आदिवासी जनजाति महासङ्घले ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने नारा तय गरेको छ ।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले सर्वोच्च अदालतले आइएलओ कन्भेसन १६९ र युएनड्रिपको सन्दर्भमा कार्यान्वयनका लागि जारी गरेको आदेश कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले नेपालको सन्दर्भमा सबैभन्दा ठुलो सामाजिक समूह आदिवासी जनजाति समूह रहेको पनि बताउनुभयो ।

उहाँले सरकारले आदिवासी जनजातिको मुद्दालाई सम्बोधन गर्दै लगेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा तथा गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न ऐन बनाएर अगाडि बढाइसकिएको छ ।” उहाँले आदिवासी जनजाति समुदायले पनि अन्य समुदायले जस्तै चाडपर्वमा सार्वजनिक बिदा प्राप्त गरेको र समानुपातिक समावेशी अवस्था राम्रो रहेको बताउनुभयो ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले आदिवासी जनजाति दिवस उत्सवका रूपमा मनाइने गरेको बताउनुभयो । उहाँले आदिवासी समुदायको हक, अधिकार कार्यान्वयनका लागि सरकारलाई दबाब दिन सक्नुपर्ने बताउनुभयो । आयोगले नीतिगत सुधारका लागि सरकारलाई दिएको सुझावमध्ये १० प्रतिशत पनि कार्यान्वयन नभएको गुनासो उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “आयोगले गरेको सिफारिसमध्ये दस प्रतिशत पनि कार्यान्वयनमा आएका छैनन् । जल, जङ्गल, जमिनमा जुन अधिकार हो, यो विषयमा सरकारलाई संवेदनशील बनाउन सकिएको छैन ।”

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी दिवस सरकारलाई आफ्नो एजेन्डा राख्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष मात्रै होइन, विश्वका आदिवासीहरूले आफ्नो संस्कृति, धर्म, रैथाने परम्परा सबै जोगाउने र सरकारसमक्ष आफ्नो हक, अधिकारका लागि कुरा राख्ने अवसरका रूपमा लिएका छौँ ।”

राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ अध्यक्ष ङिमी शेर्पाले आदिवासी महिलाले खाद्यान्न सुरक्षाको विषय मुख्य मुद्दाका रूपमा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले खाद्यान्न कसरी सुरक्षित गर्ने भन्ने विषयमा जोड दिएका छौँ । हामीले परम्परा अनुसार खाद्यान्न धेरै महिना सुरक्षित गरेर खपत गथ्र्यौं तर अहिले बजारमा धेरै सुविधा भएपछि खाद्यान्नलाई धेरै समयसम्म सुरक्षित राख्ने विधिमा त्यति वास्ता गर्न सकेका छैनौँ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्