ब्लग

सामाजिक सञ्जालको भूमिका : अवसर कि जोखिम ? -डा. टीका ढकाल

२१औँ शताब्दी सूचना र प्रविधिको क्रान्तिको युग हो, जसको केन्द्रमा सामाजिक सञ्जाल (सोसल मिडिया) उभिएको छ । मानव समाजको सञ्चार, सूचना प्रवाह, अभिव्यक्ति, जागरूकता र नेटवर्किङको स्वरूपलाई आमूल परिवर्तन गराउने यस प्रविधिले संसारलाई एक ‘डिजिटल गाउँ’मा रूपान्तरण गरिदिएको छ । सामाजिक सञ्जालले व्यक्तिहरूलाई आफ्नो विचार, भाव, अनुभव र प्रतिक्रियाहरू सुलभ ढङ्गले प्रस्तुत गर्ने स्वतन्त्र प्लेटफर्म उपलब्ध गराएको छ । यही कारणले यसलाई ‘अभिव्यक्तिको लोकतन्त्र’को संज्ञा समेत दिइन्छ ।

तर, यही अवसरको खुलापन आज जोखिममा बदलिँदो छ । सामाजिक सञ्जालको दुरुपयोगले सामाजिक सद्भाव, सम्मानजनक संवाद र विचार-विमर्शको संस्कृतिलाई चुनौती दिँदै छ । गालीगलौज, ट्रोलिङ, व्यक्तिगत आक्रमण, गलत सूचना (misinformation) र नक्कली समाचार (fake news) जस्ता विकृतिहरूको माध्यम बन्दै गएको छ यो माध्यम । विशेषगरी मानिसहरू आफ्ना रीस, निराशा वा आक्रोश पोख्ने ‘डिजिटल खाल्डो’को रूपमा यसको प्रयोग गर्न थालेका छन् । फलतः यसले समाजमा ध्रुवीकरण, सामाजिक तनाव र संवेदनशील सम्बन्धहरूको विघटन उत्पन्न गराएको छ । आज प्रश्न उठिरहेको छ के सामाजिक सञ्जाल अभिव्यक्तिको स्वतन्त्रताको सार्थक उपकरण हो, वा समाजमा अराजकता फैलाउने डिजिटल अस्त्र बनिरहेको छ ?

१. अभिव्यक्तिको अवसर र लोकतान्त्रिक प्रयोग

अभिव्यक्तिको स्वतन्त्रता लोकतान्त्रिक मुलुकमा नागरिकको एक आधारभूत अधिकार हो । यो स्वतन्त्रताले व्यक्ति वा समूहलाई आफ्ना विचार, भावना, चिन्ता र असन्तुष्टिहरू खुला वा सार्वजनिक रूपमा राख्ने अधिकार प्रदान गर्छ । नेपालको संविधान २०७२ को अनुच्छेद १७ अन्तर्गत बोल्ने, लेख्ने, छाप्ने, प्रकाशन गर्ने, सम्प्रेषण गर्ने र सूचना प्रवाह गर्ने अधिकारलाई अभिव्यक्तिको स्वतन्त्रताअन्तर्गत सुनिश्चित गरिएको छ । तर प्रत्येक स्वतन्त्रतासँग उत्तरदायित्व र मर्यादाको सीमा पनि रहन्छ । जब कुनै अभिव्यक्ति अरुको आत्मसम्मान, प्रतिष्ठा, जातीय, धार्मिक वा लैङ्गिक पहिचानमाथि प्रहार गर्छ, त्यसबेला त्यो अभिव्यक्ति स्वतन्त्रताको हकभन्दा बाहिर जान्छ । कुनै व्यक्तिले आफ्ना असन्तुष्टि, दोष वा विचार राख्दा यदि अपशब्द, घृणा, धम्की वा व्यक्तिगत चरित्रहत्या प्रयोग गर्छ भने त्यो स्वतन्त्रता होइन, सामाजिक विकृति हो ।

सामाजिक सञ्जालको वृद्धिसँगै अहिले ‘म मेरो विचार राख्दैछु’ भन्ने नाममा मानिसहरूले गालीगलौज, अपमानजनक भाषा र व्यक्तिगत आक्रमण गर्न थालेका छन् । यो प्रवृत्ति विशेषगरी सार्वजनिक व्यक्तित्व, पत्रकार, राजनीतिकर्मी वा सामाजिक कार्यकर्ताहरूलाई लक्षित गरेर देखिन्छ । कतिपय अवस्थामा यस्ता टिप्पणीहरू जातीय घृणा, लैङ्गिक हिंसा, धार्मिक असहिष्णुता फैलाउने खालका हुन्छन् । यस्तो अभिव्यक्ति व्यक्तिगत स्वतन्त्रता भन्दापनि सामाजिक अशान्ति बढाउने माध्यम बन्न सक्छ ।

सामाजिक सञ्जालमा अनामिक रूपमा वा नक्कली पहिचान प्रयोग गरेर गाली गर्ने, रिस पोख्ने वा कुण्ठा व्यक्त गर्नेहरूले आफ्नो कार्यलाई ‘अभिव्यक्ति स्वतन्त्रता’को आवरणमा राख्न खोज्छन् । तर, अभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्तिलाई अपमान गर्ने छुट होइन, बरु यो स्वतन्त्रता सम्वेदनशीलता, विवेक र उत्तरदायित्वसहित प्रयोग गर्नु पर्ने अधिकार हो ।

संविधानले दिएको स्वतन्त्रताको अधिकार व्यक्तिगत स्वतन्त्रता मात्रै होइन, यो समाजप्रतिको उत्तरदायित्व पनि हो । व्यक्तिको विचार व्यक्त गर्ने अधिकारजस्तै, अर्को ब्यक्तिको इज्जत, प्रतिष्ठा र सुरक्षाको अधिकार पनि सुनिश्चित गरिएको हुन्छ । त्यसैले एउटा व्यक्तिको स्वतन्त्रता तबसम्म स्वतन्त्र हुन्छ, जबसम्म त्यो स्वतन्त्रता अर्कोको स्वतन्त्रतालाई हानी पुऱ्याउँदैन । सामाजिक सञ्जालमा जब व्यक्तिहरू असहिष्णु र कठोर भाषा प्रयोग गर्छन्, त्यसले सामाजिक समावेशिता, सहिष्णुता र सहकार्य जस्ता मूल्यहरूलाई कमजोर बनाउँछ । यसकारण, डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग संवेदनशीलता, सत्यता र जिम्मेवारीका साथ हुन आवश्यक छ ।

२. अवसरको छायाँमा जोखिमको विस्तार

सामाजिक सञ्जाल अहिले ‘डिजिटल डायरी’ मात्रै नभई, ‘डिजिटल भेन्टिलेसन’को माध्यम बन्दै गएको छ । मानिसहरूले आफ्नो व्यक्तिगत निराशा, असन्तोष, अपमान, वा भोगेका अन्यायहरू सञ्जालमा पोख्न थालेका छन् । कहिलेकाहीँ प्रत्यक्ष रूपमा व्यक्त गर्न नसकेको भावना-आक्रोश, क्रोध, वा कुण्ठा-सामाजिक सञ्जालमार्फत अभिव्यक्त हुन्छ । सामान्यतया यस्तो क्रोधको शिकार हुन्छन्, राजनीतिक दल, सार्वजनिक व्यक्तित्व, मिडिया वा समाजमा कुनै निश्चित वर्ग । किनभने, सञ्जालमा प्रत्यक्ष जवाफदेही हुनुपर्दैन, व्यक्तिहरू सहज रूपमा रीस पोख्न बाध्य हुँदैनन् ।

धेरै मानिसहरू व्यक्तिगत, आर्थिक वा पारिवारिक समस्याहरूले मानसिक रूपमा थिचिएका हुन्छन् । यस्तो तनावको निकास पाउन नसक्दा उनीहरू सामाजिक सञ्जाललाई ‘भावनिक निष्कासनको माध्यम’ बनाउँछन् । मनोविज्ञानका अनुसार, जब मानिसलाई असुनुवाइ, तुच्छता वा अन्याय भोग्नु पर्छ, उनीहरू आफूलाई अर्थपूर्ण र शक्तिशाली बनाउने प्रयासमा अरूलाई आक्रमण गर्छन् । सामाजिक सञ्जालमा उनीहरूको ‘क्रोधको च्यानल’ सजिलो रूपमा उपलब्ध हुन्छ ।

नेपाली समाज परम्परागत रूपमा सभ्य र मर्यादित भाषा प्रयोग गर्ने संस्कृतिमा अडिएको थियो । तर सामाजिक सञ्जालमा यतिबेला भाषा दिन-प्रतिदिन कटु, कठोर, अश्लील र अपमानजनक बन्दै गइरहेको छ । व्यक्तिहरू शब्द छान्नभन्दा पहिले भावनामा बग्न थालेका छन् ।

सञ्चारमाध्यममा, विशेषतः टिकटक, फेसबुक वा ट्विटर मा देखिने गालीगलौजले अब ‘व्यक्तिगत गाली’ मात्र होइन, सामूहिक भाषिक हिंसाको रूप लिँदै गएको छ । यसले भाषा संस्कृतिको नै अपमान गरिरहेको छ ।

आजको डिजिटल युगमा ‘भाइरल’ हुनु भनेको लोकप्रियता कमाउने सबैभन्दा छिटो तरिका हो । यसले धेरैलाई ‘जसरी भए पनि ध्यान तान्ने’ प्रवृत्तितर्फ डोऱ्याएको छ । धेरैलाई लाग्छ, शालीन भाषाले भन्दा कठोर र भड्किलो अभिव्यक्तिले बढी ध्यान खिचिन्छ । यसैले, कटुता, आक्रोश, अपमानजनक टिप्पणी वा भड्काउने भिडियोहरू भाइरल हुन्छन्, र त्यसको पुरस्कार स्वरूप ‘लाइक’, ‘शेयर’, ‘फ्लोअर’ र ‘प्रसिद्धि’ पाइन्छ । तर, यस्तो भाषिक असंवेदनशीलताले युवापुस्तामा भाषा संस्कृतिप्रतिको सम्मान घटाइरहेको छ ।

सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोग र त्यसमा अभद्र भाषा, आक्रोशपूर्ण टिप्पणी र अतिवादी अभिव्यक्तिका कारण व्यक्तिगत सम्बन्धमा दरार आउन थालेको छ । सामान्य कुराकानीको क्रममा उठेका विवाद सामाजिक सञ्जालमा सार्वजनिक बहसमा रूपान्तरण भएपछि मित्रता र पारिवारिक सम्बन्धसमेत बिग्रन थालेका छन् । विशेषतः नेपालमा अहिले सामाजिक सञ्जालको प्रयोगले राजनीतिक ध्रुवीकरण चर्काएको छ । कुनै नेताको समर्थन वा विरोध, राजनीतिक कटुता र वैचारिक असहिष्णुतालाई प्रश्रय दिएको छ ।

जब समाजका सदस्यहरू एकअर्कालाई अपशब्द, आरोप वा तुच्छता देख्न थाल्छन्, परस्पर विश्वास र सद्भाव कमजोर पर्छ । सामाजिक सञ्जालमा गलत सूचनाको आधिकारिकता बिना फैलने प्रवृत्तिले पनि समाजमा शङ्का र द्वेषको बीउ रोपिरहेको छ । यो प्रवृत्तिले सामाजिक एकता र सहअस्तित्वमा गम्भीर खतरा उत्पन्न गराएको छ । सोशल मिडियामा व्यक्त गरिने रिस, गाली र घृणा अब केवल ‘भर्चुअल’ मात्रै छैन, यसको असर व्यक्तिको अफलाइन व्यवहारमा समेत देखिन थालेको छ ।

मानिसहरू यति धेरै आक्रोश पोख्ने बानीमा परेका छन् कि सामान्य छलफल र मतभेदलाई पनि शत्रुता बनाउने मनोवृत्ति बढेको छ । यसले सामाजिक सहिष्णुता र बहसको संस्कृति समाप्त पार्ने खतरा निम्त्याएको छ ।

सामाजिक सञ्जालमा बनाइएको आभासी संसार (virtual reality) मा मानिसहरू आफूलाई जुनसुकै रूप दिन सक्छन्– साहसी, तिखो, विद्रोही वा उग्र । तर यस्तो व्यवहारले उनीहरूको सामाजिक छवि मात्र होइन, वास्तविक जीवनको सामाजिक चरित्रमा पनि कठोरता, असहिष्णुता र आक्रोशपूर्ण व्यवहार बढाउन थाल्छ ।

धेरै युवाहरू यस्ता ‘डिजिटल स्वभाव’को प्रभावमा वास्तविक सम्बन्धहरू पनि नष्ट पार्न थालेका छन् ।
डिजिटल युगमा नागरिक अधिकारसँगै डिजिटल जिम्मेवारी (digital responsibility) पनि अनिवार्य हुन्छ ।

सामाजिक सञ्जालमा गरिने हरेक अभिव्यक्ति शब्द मात्रै होइन, समाज निर्माणमा प्रयोग हुने ‘ईंट’ जस्तै हो । त्यसैले अब हाम्रो शिक्षाको ढाँचामा साइबर आचारसंहिता, डिजिटल नागरिकता र संवेदनशील संवाद अनिवार्यरूपमा समावेश गरिनुपर्ने आवश्यकता देखिन्छ ।

नेपाल सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी निर्देशिका, साइबर अपराध नियन्त्रण ऐन, तथा सूचना प्रविधिसम्बन्धी नीति बनेको छ । सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण (NTA) र गृह मन्त्रालयले कहिलेकाहीँ भाइरल भइदिएका आपत्तिजनक सामग्रीमाथि कारवाही पनि गरेका छन् । तर यी प्रयास अझ स्पष्ट, सर्वसुलभ र प्रभावकारी हुनु आवश्यक छ । उदाहरणका लागि २०७९ मा सरकारद्वारा प्रस्तावित ‘सञ्चार तथा सूचना प्रविधि विधेयक’ले सामाजिक सञ्जालमा गलत सूचना, गाली र मानहानी गर्नेहरूलाई नियमन गर्ने प्रावधान समेटेको थियो, तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने डर भन्दै आलोचना भयो । सरकारको नियमन र नागरिकको स्वतन्त्रता बीचको सन्तुलन कति संवेदनशील छ । सञ्चारको अर्थ एक अर्कालाई बुझ्नु हो, हराउनु होइन । त्यसैले सामाजिक सञ्जालमा बहस होइन, संवादको संस्कृति विकास गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।

संवाद, सम्मान र मतभेदलाई स्वीकार्ने नैतिक अनुशासन सिर्जना गर्न स्कूल, कलेज, नागरिक समाज र मिडिया सबैले भूमिका खेल्नुपर्ने समय आएको छ । हामीलाई चाहिएको हो साइबर साक्षरता जहाँ हामी सिक्न सक्छौं कुन अभिव्यक्ति उपयुक्त हो, कुन गलत सूचना हो, कसरी डिजिटल व्यवहार गर्नुपर्छ । साथै, भावनात्मक बुद्धिमत्ता (emotional intelligence) विकास गर्न पनि आवश्यक छ, जसले मानिसलाई रिस नियन्त्रण गर्न, सहानुभूति राख्न र विवेकपूर्ण व्यवहार गर्न प्रेरित गर्छ ।

निष्कर्ष

सामाजिक सञ्जाल एउटा अद्भुत साधन हो यदि त्यसको प्रयोग विवेक, जिम्मेवारी र सद्भावसहित गरियो भने । यदि यसलाई रिस पोख्ने, आक्रोश फैलाउने र अपमानजनक अभिव्यक्तिको थलो बनाइयो भने, यसले समाजमा अराजकता, द्वन्द्व र अविश्वास बढाउनेछ । स्वतन्त्रता र संयमको सन्तुलन अब समयको आवश्यकता बनेको छ । संवादको शुद्धिकरण, अभिव्यक्तिको मर्यादा र डिजिटल संस्कृतिको परिष्कार यी तीन तत्व सामाजिक सञ्जालको सही प्रयोगका लागि मार्गदर्शक बन्न सक्छन् । हामीले अब भर्चुअल रियलिटीलाई सामाजिक यथार्थ बन्ला कि नबन्ला भन्ने कुरा छोड्नुभएन । यसकारण, समयमै चेतना, सुधार र पहल आवश्यक छ ।

(लेखक नेपाल बौद्धिक परिषद्का प्रचार सचिव हुन् ।)

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.