सुदूरको कथा रङ्गमञ्चमा
काठमाडौँ । प्रतीक्षा, सपना, खुसी, दुःख, हाँसो र रोदनसहितको सामाजिक यथार्थको कथा बोकेको नाटक ‘श्री बिज्जो भूत’ मण्डला नाटकघरमा मञ्चन भएको छ । नाटकले २०५० को दशकको सुदूरपश्चिमेली समाजलाई पृष्ठभूमिमा राख्दै रोजगारीका लागि भारत पलायन भएका पुरुषको प्रतीक्षामा जीवन बिताइरहेका महिलाको कथा प्रस्तुत गरेको छ । परदेसिएका पुरुषको अनुपस्थितिमा गाउँमा बाँकी रहेका महिलाका आशा, आकाङ्क्षा, सङ्घर्ष र सामाजिक सम्बन्धलाई नाटकीय शैलीमा उजागर गरेको छ ।
सपनाको उडानले नाटकलाई हाँसो र रोदनमिश्रित बनाएको छ ।
खासगरी सुदूरपश्चिमको लोकसंस्कृति, जनविश्वास र परदेशिएका प्रियजनको पर्खाइमा बाँचेका महिलाको कथा बोकेको नाटक ‘श्री बिज्जो भूत’ले जीवनका अनेक रङमार्फत प्रस्तुत गरेको छ ।
प्रदेशी लाहुर्या म त बम्बै गइजान्या हु मालुपात छुट्टी जनम थात ।
मेरी मनकी पियारिलाई सङ्गै लैजाने हु मालुपात छुट्टी जनम थात…।
नाटकका कलाकारले सामूहिक रूपमा प्रत्यक्ष प्रस्तुत गर्ने लोकगीतले हृदय स्पर्श गर्छ । नाटकको सबल पक्ष भनेकै सुदूरपश्चिमको भाषिक लबज, मौलिक पहिरन, लोकगीत र सांस्कृतिक प्रस्तुतिको संयोजन हो ।

सुदूरपश्चिमको लबजलाई जस्ताको तस्तै प्रस्तुत गर्नुले पात्रलाई अभिनयमा मात्र सीमित नराखी त्यहाँको जीवनशैली र सामाजिक परिवेशसँग जोड्न सकेको छ । घरी घरी पात्रहरूले दर्शकलाई हँसाइरहन्छन् भने भावनात्मक दृश्य र गीतको प्रस्तुतिले गाउँमा बाँकी रहेका जीवनका कथासँग साक्षात्कार गराएको छ ।
भारतमा रोजगारीका लागि पलायन भएका पुरुषको प्रतीक्षा, उनीहरू फर्किएपछिका सपना र सुदूरपश्चिमेली समाजको यथार्थलाई नाटकले जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
गौरी र उहाँकी आमाले बर्सौंदेखि परदेसिएका बाबुको प्रतीक्षा गरिरहेको कथाबाट सुरु हुने नाटकमा गौरीलाई मुम्बई लैजाने प्रयाससँगै कथा अघि बढ्छ । नाटकको शीर्षकमा रहेको ‘श्री बिज्जो भूत’ डडेलधुराको निङ्लाइगाउँमा प्रचलित जनविश्वाससँग जोडिएको छ । गलत काम गर्ने व्यक्ति बिज्जो भूतको क्षेत्रबाट उम्कन नसक्ने स्थानीय विश्वासलाई प्रस्तुतीकरणसँग जोड्ने प्रयाससहित सुदूरपश्चिमको कथा, भाषा र संस्कृतिलाई काठमाडौँको रङ्गमञ्चमा दर्शकमाझ ल्याएको हो ।
पुरुषले महिलाका अव्यक्त भावलाई देखिनुपर्ने कुरालाई नाटकमार्फत चित्रण गरिएको छ । देखिएको कुरालाई मात्रै सत्य मान्ने प्रवृत्तिले मानिसको वास्तविक भोगाइ, भावना र बाध्यतालाई कसरी ओझेलमा पार्छ भन्ने कुरा कलात्मक ढङ्गले उजागर गरिएको छ । नाटकको अन्त्य रहस्यमयी छ ।
नाटकमा स्नेहा जोशी, आदित्य मिश्र, सुस्मिता कुँवर, भूपि लुहार, उमेश सुनाम, अग्नि श्री विश्वकर्मा, समृद्धि नेपाल, सुशीला लुहार, दिवस नाथ, चिराग पनेरू र वर्षा भण्डारीको अभिनय रहेको छ । यसै गरी प्रत्यक्ष सङ्गीतमा सौरभ चालिसे, जीवन राई र हरिना नाथ रहनुभएको छ । नाटकको लेखन दिवस नाथले गर्नुभएको हो । बुद्धि तामाङ र आकाश नेपालीले निर्देशन गर्नुभएको उक्त नाटकका निर्माता सोमनाथ खनाल हुनुहुन्छ । असोज ६ गतेदेखि असोज २७ गतेसम्म नाटक मञ्चन भएको हो ।