एसियाली खेलकुद क्रिकेट: क्वार्टरफाइनलमा नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले बीसौँ संस्करणको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा स्थान बनाएको छ । नेपालले समूह ‘ए’ विजेताको हैसियतमा क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
नेपालले समूह चरणमा अफगानिस्तानलाई पाँच विकेटले हराउँदा आयोजक जापानसँग वर्षाका कारण खेल रोकिएपछि अङ्क बाँडेको हो । नेपालले अब क्वार्टरफाइनलमा श्रीलङ्काविरुद्ध खेल्नेछ । नेपाल र श्रीलङ्काबीचको खेल मङ्गलबार हुने तालिका छ ।
आज जापानसँगको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो ।
नागोयास्थित कोरोगी स्पोट्र्स पार्कको मैदानमा भएको खेलमा नेपालका लागि सन्दीप जोरा र लोकेश बमले अर्धशतकीय पारी खेले । जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन तथा लोकेशले २२ बलमा छ छक्का र एक चौकाको सहयोगमा अविजित ५२ रनको पारी खेलेका हुन् ।
यस्तै, आसिफ शेखले १५ बलमा एक छक्का र एक चौकासहित २१ रन जोडे । जापानका लागि बलिङमा इब्राहिम ताकाहासी, डेक्लान सुजुकी, जेक कुसुडा नायर्न र रेओ साकुरानो थोमसले एक/एक विकेट लिएका थिए ।