रिता तामाङले जितिन् ‘मिसेस व्यूटिफुल’ उपाधि
काठमाडौं। शनिबार सम्पन्न ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगितामा रिता तामाङले ‘मिसेस नेपाल’ को उपाधि जित्नुभएको छ । उहाँले मुख्य उपाधिसँगै मिसेस फोटोजेनिक, मिसेस ट्यालेन्ट र मिसेस बेस्ट वाकको उपाधिसमेत हात पार्नुभयो ।
पेशाले ब्युटिसियन रहनुभएकी रिता तामाङ काठमाडौंमा आफ्नै ब्युटीपार्लरसमेत सञ्चालन गर्दैआएकी छन्। सौन्दर्य क्षेत्रमा सक्रिय तामाङले आफ्नो व्यावसायिक अनुभवसँगै आत्मविश्वास र प्रतिभालाई प्रतियोगिताको मञ्चमा प्रस्तुत गर्दै चारवटा विधामा उपाधि जितेकी हुन् ।
राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ नायिका तृप्ती नाडकर तथा वरिष्ठ गायक आनन्द कार्कीको आतिथ्यता रहेको थियो। प्रतियोगिता दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न भएको हो।
उपाधि जितेपछि तामाङले आफू अत्यन्तै खुसी, गौरवान्वित र भावुक भएको बताउँदै ‘मिसेस नेपाल’ को उपाधिले आफूलाई नयाँ जिम्मेवारी, उत्साह र अझ राम्रो काम गर्ने प्रेरणा दिएको प्रतिक्रिया दिनुभएको छ ।
कला, सौन्दर्य, प्रतिभा र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने यस्ता प्रतियोगिताले नेपाली महिलालाई आफ्नो प्रतिभा देखाउने अवसरसँगै नयाँ पहिचान र सम्भावनाको ढोका खोल्ने विश्वास तामाङले व्यक्त गर्नुभयो ।
प्रतियोगितामा मन्दिरा आचार्य फस्ट रनरअप, गीता बुढाथोकी सेकेन्ड रनरअप, सिर्जना घिमिरे थर्ड रनरअप र रिता कटुवाल फोर्थ रनरअप घोषित हुनुभयो। भ्युयर च्वाइस अवार्ड भने सिर्जना घिमिरेले जित्नुभयो । यसैगरी प्रतियोगिताको ‘मिस नेपाल’तर्फ समीक्षा शर्मा विजेता बनेको आयोजक दक्ष इन्टरनेशनल प्रालिका अध्यक्ष टेकराज पाण्डेले जानकारी दिनुभयो ।
‘मिस नेपाल’ तर्फ ताराकुमारी दुलाल फर्स्ट फस्ट रनरअप, निशा राजबहक सेकेन्ड रनरअप र सञ्जिना चौधरी थर्ड रनरअप घोषित हुनुभयो । प्रतियोगिताको आधिकारिक मेकअप आर्टिस्ट क्युट केयरकी चन्दा पुन र कोरियोग्राफर अश्विन झा हुनु्हुन्थ्यो ।