डायस्पोरा

वंशजको नागरिकता निरन्तरताको लागि संबिधानको परिधिमा रहेर गृहकार्य हुदैछ: कानूनमन्त्री सोबिता गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले गैरआवासीय नेपालीसम्बन्धी नयाँ विधेयक २०८२ संसदमा चाँडै पेश गर्ने तयारी भइरहेको बताउनुभएको छ। प्रवासी नेपालीका महत्वपूर्ण कानुनी तथा नीतिगत विषयमा केन्द्रित विशेष जुम संवादमा सहभागी प्रवासी नेपालीका प्रतिनिधि तथा कानुनी–नीतिगत विज्ञहरूसँगको छलफलका क्रममा मन्त्री गौतमले यस्तो जानकारी दिनुभएको हो।

विभिन्न देशमा सक्रिय प्रवासी नेपाली सम्पर्क विभागका नेतृत्वकर्ता, पदाधिकारी तथा कानुनी–नीतिगत विज्ञहरूको सहभागितामा सम्पन्न उक्त संवादमा वंशजको नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीसम्बन्धी विधेयक २०८२, गैरआवासीय नेपाली संघको संरचनागत सुधार तथा प्रवासी नेपालीका मुद्दालाई नेपाल सरकारसमक्ष प्रभावकारी रूपमा पुर्‍याउने संस्थागत संयन्त्रलगायत विषयमा विस्तृत छलफल भएको थियो।

मन्त्री गौतमले सहभागीहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक कानुनी तथा नीतिगत सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारका कामलाई तीव्रता दिइरहेको छ।

विशेषगरी विद्यमान कानुनको सुधार तथा परिमार्जनसँगै आवश्यक नयाँ कानुन निर्माणलाई सरकारले द्रुतमार्गबाट अघि बढाइरहेको जानकारी दिँदै मन्त्री गौतमले गैरआवासीय नेपालीसम्बन्धी नयाँ विधेयक २०८२ संसदमा चाँडै पेश हुने तयारी भइरहेको बताउनुभयो। सरकारले प्राथमिकतामा रहेका आवश्यक कानुनलाई संसदमा अघि बढाउने उहाँको भनाइ थियो।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको “आफ्नो कानुन आफैँ बनाऔँ” कार्यक्रम प्रभावकारी बन्दै गएको मन्त्री गौतमले उल्लेख गर्नुभयो। नागरिकलाई प्रत्यक्ष रूपमा कानुन निर्माण प्रक्रियामा जोड्ने नयाँ अभ्यास सुरु भएको बताउँदै उहाँले साना–साना विषयमा समेत सम्बन्धित क्षेत्रबाट प्रस्ताव आउन सक्ने र ती प्रस्तावमार्फत जनतालाई कानुन निर्माणमा प्रत्यक्ष सहभागी गराउने अवसर सिर्जना भएको बताउनुभयो।

बैठकमा वंशजको नागरिकताको विषयलाई प्रमुख प्राथमिकताका रूपमा उठाइएको थियो। विदेशमा रहेका नेपाली नागरिक तथा उनीहरूका भावी पुस्तालाई मातृभूमिसँग निरन्तर जोडिराख्न आवश्यक कानुनी सुधार, नागरिकताको निरन्तरता सुनिश्चित गर्ने उपाय तथा दीर्घकालीन नीतिगत स्पष्टताबारे सहभागीहरूले गहन छलफल गरेका थिए।

वंशजको नागरिकताको विषयमा वर्तमान संविधानको संरचनाभित्र रहेर राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा गरेको वाचाअनुसार काम अघि बढिरहेको मन्त्री गौतमले बताउनुभयो। यस विषयमा ठोस परिणाम चाँडै सार्वजनिक हुने जानकारीसमेत उहाँले दिनुभयो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्