नेपाल

निर्वाचन आयोगका प्रस्तावित तीन आयुक्तको संसदीय सुनुवाइका लागि प्रक्रिया सुरु

काठमाडौँ । संसदीय सुनुवाइ समितिकोे बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित तीन जनाको संसदीय सुनुवाइका लागि प्रक्रिया सुरु गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित तीन जनाका सम्बन्धमा उजुरी संकलनसम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र सङ्घीय संसद् सचिवालयको विद्युतीय माध्यममार्फत् आधिकारिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको बताउनुभयो ।

सभापति श्रेष्ठले प्रस्तावित उम्मेदवारका सम्बन्धमा जनताबाट उजुरी तथा सुझाव आह्वान गर्न भोलि देखि १० दिनका लागि सार्वजनिक सूचना जारी गरिने तथा प्राप्त उजुरीका आधारमा सुनुवाइको कार्यतालिका, प्रक्रिया र आवश्यक मापदण्ड तयार गरिने जानकारी दिनुभयो ।

बैठकमा सांसदहरूले प्रस्तावित उम्मेदवारबारे पर्याप्त जानकारीसहित जनतालाई आश्वस्त बनाउने गरी प्रश्न, जिज्ञासा र उजुरीका आधारमा पारदर्शी तथा प्रभावकारी ढङ्गले सुनुवाइ प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकले सूचना प्रकाशनपछि प्राप्त उजुरी र सुझावको अध्ययन गरी आगामी सुनुवाइको मिति तय गर्ने निर्णय गरेको छ ।
संवैधानिक परिषद्ले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा प्रस्तावित आयुक्तद्वय डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम संसदीय सुनुवाइ समितिमा पठाएपछि समितिको आज बसेको बैठकले सुनुवाइ प्रक्रियालाई अघि बढाएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्