एक्सक्लुसीभ

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप देशभर सञ्चालन गरेको जिल्ला अधिवेशन अभियानलाई तीव्र बनाउँदै आजदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु गर्ने भएको छ।

रास्वपाले हालसम्म ७७ जिल्लामध्ये ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीका अनुसार १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको, एक जिल्लामा अधिवेशन स्थगित भएको र पाँच जिल्लामा अधिवेशन हुन बाँकी छ।

जेठ २३ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। रास्वपाका प्रवक्ता मनीष झाले मधेश प्रदेशका केही जिल्लामा नेतृत्व चयनका लागि मतदान प्रक्रिया अझै जारी रहेको जानकारी दिएका छन्।

लुम्बिनी प्रदेशका सबै जिल्लामा अधिवेशन सम्पन्न भइसकेकाले जिल्ला अधिवेशन सक्ने पहिलो प्रदेश बनेको छ। यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लामा पनि नेतृत्व चयन सम्पन्न भइसकेको पार्टीले जनाएको छ। सिन्धुपाल्चोकमा अधिवेशन स्थगित भएको छ भने मनाङ र मुस्ताङमा हालसम्म अधिवेशन हुन सकेको छैन।

रास्वपाले वडा र पालिका तहको अधिवेशन सम्पन्न गरेपछि जिल्ला अधिवेशनमार्फत संगठनलाई थप सुदृढ बनाउने अभियानलाई अगाडि बढाएको जनाएको छ। पार्टी नेतृत्वले तल्लो तहबाट नेतृत्व चयन गर्ने प्रक्रियालाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेको छ।

पार्टीले पहिलो महाधिवेशनलाई संस्थागत विकास तथा वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप मजबुत बनाउने अवसरका रूपमा लिएको जनाएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा आयोजना हुने तय भएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.