मनोरंजन

सङ्गीत र नाट्य प्रज्ञा-प्रतिष्ठानद्वारा थबाङमा आयोजित सङ्गीत उत्सव सम्पन्न

काठमाडौँ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र रोल्पा कला साहित्य प्रतिष्ठानको सहआयोजनामा रोल्पाको थबाङमा ‘प्रगतिशील सङ्गीत उत्सव’ भव्यताका साथ सम्पन्न भएको छ । ‘प्रगतिशील सुरहरू राष्ट्रका लागि’ भन्ने मूल नाराका साथ वैशाख १९ र २० गते आयोजित सो उत्सवले नौबूँदे ‘थबाङ घोषणापत्र’ समेत पारित गरेको छ ।

उत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहने तय भए पनि कार्यक्रमको अघिल्लो दिन जलजला मेलाबाट फर्कँदै गरेका यात्री सवार जिप दुर्घटनामा परेपछि उहाँ उद्धार कार्यमा संलग्न हुनुभएकाले कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।

उत्सवमा नवीन रोका मगरले ‘रोल्पाली कला साहित्यको इतिहास’ र भीम कुमाखीले ‘नेपाली समाजमा प्रगतिशील सङ्गीत’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कुमाखीको कार्यपत्रमाथि माधव प्रधान र चिरण पुनले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो दिन मेचीदेखि महाकालीसम्मका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले जनवादी गीत, अपेरा तथा लोकनृत्य प्रस्तुत गरे । वरिष्ठ कलाकारहरू जीवन शर्मा, उदय श्रेष्ठ, माधव प्रधान, मधु गुरुङ, वीरप्रसाद भन्सारी, शारदा लिम्बू, नारायण शर्मा, र केशरी घर्ती मगर ‘एलिना’ लगायतको प्रस्तुतिले थबाङ गुन्जायमान बनेको थियो । स्थानीय भूमे नाचमा प्रमुख अतिथि लगायतका सहभागीहरूको नृत्यले थप रौनक थपेको थियो । यस्तै, स्थानीय चाहना कला केन्द्रको लोकनृत्य र विभिन्न जनजातिका कलात्मक झाँकीहरू कार्यक्रमका आकर्षण रहेका थिए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी निवर्तमान सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ को विशेष सक्रियता र रोल्पाका १० वटै पालिकाको प्रायोजनमा कार्यक्रम सम्पन्न भएको हो । माओवादी सशस्त्र सङ्घर्षको उद्गम थलो थबाङमा आयोजित यस कार्यक्रमलाई सहभागीहरूले विशेष उपलब्धिका रूपमा लिएका छन् । गणतन्त्र प्राप्तिका लागि प्रगतिशील सङ्गीतको ठुलो भूमिका रहेको सन्दर्भमा सरकारी स्तरबाट यसको संरक्षणका लागि गरिएको यो पहिलो प्रयास मानिएको छ ।

मौसमको प्रतिकूलता, नजिकै भएको दुःखद दुर्घटना र प्रशासनिक फेरबदलका बाबजुद कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भयो । संविधानसभा सदस्य केशरी घर्ती मगर ‘एलिना’ को नेतृत्वमा काठमाडौँबाट गएको ५० जनाको टोली र देशभरका कलाकारहरूको व्यवस्थापन सौहार्दपूर्ण रहेको थियो । सातै प्रदेशका जनजातिको लोकनृत्य प्रदर्शन गरिएको सो कार्यक्रमको कोरियोग्राफी प्राज्ञ शान्ति कठायतले गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता कुश्मा महरा ‘प्रगति’ ले गर्नुभएको थियो भने सञ्चालन नवीन रोका मगर र प्राज्ञ बखतबहादुर हमालले गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.