एक्सक्लुसीभ

कांग्रेस केन्द्रीय कार्यासमितिको बैठक मङ्गलबार बोलाइयो

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मंगलबार बस्ने भएको छ । बैठक बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजना हुने पार्टीले जनाएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ र मङ्गलबारसम्म लम्बिएको छ । यही सन्दर्भमा आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएबाट पार्टीमा रहेको दुई धार अब एक ढिक्का हुने अपेक्षा गरिएको छ ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘‘पार्टीलाई एकढिक्का बनाएर लैजान छलफल जारी छ, सहमतिका बिन्दुहरूलाई निर्णय गर्न र केन्द्रीय कार्यसमितिले अपनत्व ग्रहण गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्नु जरुरी छ, भोलि नै खबर गर्दा ढिलो हुने भएकाले आजै बैठकको सूचना जारी गरिएको हो ।’’

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की

यसैबिच, नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका साथ संवादको ढोका खुला रहेको बताउनुभएको छ ।

सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा सोमबार भएको पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यसहितको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले पार्टी एकढिक्का राख्न संवाद जारी रहेको बताउनुभएको हो ।

छलफलमा पार्टीलाई एकजुट बनाएर देशलाई अहिलेको सङ्कटबाट मुक्त गरेर जनताको चाहनाअनुसार पार्टी अगाडि बढ्नुपर्नेमा सबैको जोड रहेको नेता कार्कीको भनाइ थियो ।

यसैगरी, पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले हदैसम्म लचक भएर पार्टी विभाजनलाई रोक्न र पार्टी एकता कायम राख्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । त्यसका लागि विशेष महाधिवेशन पक्षधर नेताहरुसँग संवाद भइरहेको उहाँले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.