एक्सक्लुसीभ

पूर्व गृहमन्त्री लेखकद्वारा उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान 

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिनुभएको छ । 

पूर्व गृहमन्त्री लेखकले आयोगका पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रुपमा तयार पारेको जवाफ समेत पेस गर्नुभएको छ ।

आयोगमा पुगेर आज बयान दिँदै उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आफूले गृहमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको विषयमा स्पष्टीकरण दिँदै आन्दोलनको अघिल्लो दिन सुरक्षा समितिको बैठक बसेको र त्यस बैठकमै आफूले प्रदर्शनमा बल प्रयोग नगर्न भनेको बताउनुभयो ।

उहाँले लिखित रुपमा पेश गरेको बयानमा सुरक्षा निकायलाई आफूले गृहमन्त्रीको हैसियतले प्रष्ट रुपमा कुनै हताहती (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् समन्वयात्मक रुपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनु होला र यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुन सक्छ र प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, सतर्कता अपनाउनु होला भनेर तीन वटा कुरा स्पष्ट रुपमा भनेको उल्लेख गरिएको छ ।

पूर्व गृहमन्त्री लेखकले बयानमा जेनजी समूहले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै गरेको शान्तिपूर्ण प्रदर्शनलाई लोकतन्त्र विरोधी तत्वले ‘हाइज्याक’ गरेर हिंसात्मक बनाएको जिकिर गर्नुभएको छ ।

उहाँले संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार र निजी निवास लगायतमा भएको आगजनीलाई ‘सुनियोजित षड्यन्त्र’ र ‘लोकतन्त्रमाथिको आक्रमण’ को संज्ञा दिनुभएको छ ।

घटनामा युवाहरूको ज्यान गएपछि आफू मर्माहत भएको र नैतिकताको आधारमा आफूले तत्कालै राजीनामा दिएको स्मरण गराउँदै आगजनीमा आफ्नो घरका ऐतिहासिक दस्ताबेज नष्ट भएको र बिरामी आमालाई अक्सिजन विना अस्पताल लैजाँदा केही दिनपछि मृत्यु भएको दुखद प्रसङ्ग पनि उहाँले पेश गर्नुभएको ६ पृष्ठ लामो बयानमा उल्लेख गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.