एक्सक्लुसीभ

विशेष महाधिवेशनको ‘ब्याक गियर’ लाग्दैन : काँग्रेस महामन्त्री शर्मा

उदयपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया ‘ब्याक गियर’ नलाग्ने स्पष्ट गर्नुभएको छ।

उदयपुरको गाइघाटस्थित आगजनीमा परेको काँग्रेस जिल्ला कार्यालयको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले पार्टी विधानले विशेष महाधिवेशन दर्ताको व्यवस्था गरे पनि फिर्ता गर्ने दफा ठोस रूपमा उल्लेख नभएकाले निर्धारित प्रक्रियाअनुसारै अघि बढ्नुपर्ने बताउनुभयो।

महामन्त्री शर्माले दुई महामन्त्री वा सात भाइ समूहको धारणा अहिले मुख्य विषय नभएको टिप्पणी गर्दै सभापति शेरबहादुर देउवाले असोज २८ गते लिखित वक्तव्यमार्फत देखाउनु भएको संयम, समन्वय र परिपक्वताको सन्देशले नै अहिले पार्टीको बाटो तय गर्ने प्रमुख आधार भएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार उक्त वक्तव्यमा ‘मंसिरमा महाधिवेशन’ भन्ने स्पष्ट संकेत छुट्नु गल्ती सावित भइसकेकाले अब सभापतिले निर्णायक पहल लिनुपर्ने आवश्यकता छ। “पार्टी र देशको आजको समाधानका लागि सभापति देउवाको सकारात्मक हस्तक्षेप अत्यावश्यक छ। उहाँको पहलले पार्टीलाई समाधानमा पुर्‍याउने विश्वास छ,” महामन्त्री शर्माले प्रस्ताव गर्नुभयो।

कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन दर्ता भएको ९० दिनभित्र अनिवार्य रूपमा सम्बोधन गर्नुपर्ने प्रावधान रहेको स्मरण गराउँदै उहाँले सोही अवधिभित्र नियमित महाधिवेशन गर्ने सहमति बने विशेष महाधिवेशनको माग सम्बोधन हुने स्पष्ट पार्नुभयो।

“काँग्रेस विधानसम्मत, देश संविधानसम्मत चल्नैपर्छ। अन्यथा त्यो दुर्भाग्यपूर्ण हुनेछ,” महामन्त्री शर्माले भन्नुभयो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.