खेलकुद

एसियन कप छनोट : नेपाल भियतनामसँग पराजित

काठमाडौँ । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत पहिलो लेगमा नेपाल भियतनामसँग पराजित भएको छ ।

हो चिमिन सहरस्थित गो डाउ रङ्गशालामा बिहीबार साँझ भएको खेलमा नेपाल घरेलु टोली भियतनामसँग ३–१ गोलले पराजित भयो ।

भियतनामको जितमा एनग्युएन टिन लिनले नवौँ मिनेटमा सुरुवाती गोल गर्नुभयो । त्यसपछि फाम जुआन मान्हले र नुगुएन भान भीले दोस्रो हाफमा एक एक गोल थप्नुभयो ।

नेपालका लागि सनीस श्रेष्ठले १७औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । नेपाल पहिलो हाफको इन्जुरी समयमा १० खेलाडीमा समेटिएपछि कमजोर बन्यो ।

नेपालका लाकेन लिम्बुले भियतनामको गोल अवसरमा बाधा पुर्‍याएपछि रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो । यस हारसँगै नेपालको एसिया कप छनोट यात्रा कमजोर बनेको छ ।

छनोटको समूह ‘एफ’ मा रहेको नेपालले भियतनामसँगै अक्टोबर १४ तारिख दोस्रो लेग खेल्ने छ । अक्टोबर १४ को दोस्रो लेग नेपालमा हुनुपर्ने थियो ।

तर, काठमाडौँको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्नका लागि एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले यो खेल पनि भियतनामकै मैदानमा खेल्न लागेको हो ।

यसअघि समूहमा नेपालले लाओससँग २–१ र मलेसियासँग २–० गोलको हार खेपिसकेको छ । लगातार तेस्रो हारसँगै नेपाल अङ्क तातिकाको अन्तिममा छ ।

यस जितसँगै भियतनाम तीन खेलबाट दुई जितसहित ६ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। मलेसिया नौ अङ्कसहित शीर्ष स्थानमा छ ।

तेस्रो स्थानमा रहेको लाओसको तीन अङ्क छ । समूहको शीर्ष टोली सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा छनोट हुने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्