एक्सक्लुसीभ

काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू लम्बियो

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिने निर्णय भएको छ । पछिल्लो सुरक्षा परिस्थितिको समीक्षा गर्दै काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरूले जनधनको सुरक्षाका लागि सो व्यवस्था कायम राख्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार उपत्यकामा मिति भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी हुनेछ ।

यस्तै, भदौ २७ गते बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ ।

साथै, अत्यावश्यक आवतजावतका लागि भदौ २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म समय छुट्याइएको छ ।

निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निषेधाज्ञा तथा कर्फ्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधी ढुवानी गर्ने सवारीसाधन सञ्चालन गर्न सकिनेछ ।”

त्यसैगरी, सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले आफ्नो सक्कल परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले भने आफ्नो टिकट देखाई विमानस्थलसम्म पुग्न सक्नेछन् ।

काठमाडौं उपत्यका बाहिरको अवस्थाबारे सम्बन्धित जिल्ला सुरक्षा समितिले परिस्थितिअनुरूप निर्णय गर्ने विज्ञप्तिमा उल्लेख छ । निर्देशनालयले आम नागरिकलाई सुरक्षाकर्मीलाई सहयोग पुर्‍याउन र आवतजावतका लागि छुट्याइएको समयमा कुनै जुलुस, धर्ना वा प्रदर्शन नगर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “जस्तोसुकै परिस्थितिमा पनि आम नेपालीहरूको सुरक्षा र मानवीय उद्धारमा सुरक्षाकर्मी प्रतिबद्ध छन् । नागरिकबाट सहयोग अपेक्षित छ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्