एक्सक्लुसीभ

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्न जेनजी र बालेनको समर्थन

काठमाडौं । आन्दोलनरत जेनजी समुहको एउटा पक्षले प्रस्ताव गरेको सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरिनु पर्ने प्रस्तावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समर्थन गरेका छन्।

मेयर शाहले जेनजी समुहको एउटा पक्षको मुख्य माग अन्तरिम सरकार गठन र संसद विघटन अविलम्ब गर्न पनि राष्ट्रपतिसँग आग्रह गरेका छन् ।

मेयर शाहले बुधबार राति सामाजिक सञ्जालमा स्ट्याटस मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

शाहले कार्कीको समर्थन गर्दै लेखेका छन्, ‘यो अन्तरिम सरकारको नेतृत्व गर्न तपाईंहरूबाट आएको प्रस्ताव पूर्वप्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ। तपाईंहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु ।’

यसअघि बुधबार शैनिक मुख्यालयमा जम्मा भएका जेन-जी युवाहरूको एक समूहले सुशीला कार्कीको नाममा सहमति जनाउँदै प्रधानसेनापतिलाई प्रस्ताव गरेका थिए। तर सैनिक मुख्यालय बाहिर भेला भएका अर्को समूहले भने धरानका मेयर हर्क साम्पाङ र स्वयं बालेन शाहकै नाम प्रत्स्व गरेका थिए ।

मेयर शाहको सामाजिक सञ्जालको स्टाटस:

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईंहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला। अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम/चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईंहरूबाट आएको प्रस्ताव पूर्वप्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ। तपाईंहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईंहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने — तपाईंहरूको जोश, तपाईंहरूको सोच, तपाईंहरूको इमानदारी देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै। कृपया हतार नगर्नु होला।

सम्माननीय राष्ट्रपतिज्यू,

जेन–जीहरूले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकार गठन र संसद विघटन अविलम्ब गर्नु होला।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.