राजनीति

नेकपा एमालेकाे दोस्रो विधान महाधिवेशनको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको यही भदौ २० गतेदेखि ललितपुरको गोदावरीमा सुरु हुने दोस्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

विधान महाधिवेशनको तयारीबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी महासचिव शंकर पोखरेलले दुई उपाध्यक्षले केन्द्रीय कमिटीको बैठकको निर्णयमा राखेको फरक मत दस्ताबेजमाथिको फरक मत नभएकाले महाधिवेशनमा छलफल नहुने जानकारी दिनुभयो ।

विधान महाधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय भएको महासचिव पोखरेलले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

महाधिवेशनमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा विकसित राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिका साथै वर्तमान सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यको रूपमा अघि बढाउने मार्गचित्र प्रस्तुत हुने एमालेले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

त्यसैगरी केन्द्रीय अनुशासन आयोगका प्रमुख केशव बडाल, केन्द्रीय लेखा आयोगका प्रमुख डा पुष्प कँडेल, निर्वाचन आयोग प्रमुख डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट अमृतकुमार बोहोराले पनि आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

प्रस्तुत प्रतिवेदनहरूमाथि महाधिवेशनमा सहभागी प्रतिनिधिबिच समूहगत रूपमा छलफल गर्ने व्यवस्था मिलाइएको छ ।

भदौ २० देखि २२ गतेसम्म चल्ने दोस्रो विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकसमेत गरी २ हजार ३ सय ४१ जना सहभागी हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्