एक्सक्लुसीभ

बिनोद कुमार मल्ल, मुगु । मुगुको उत्तरी भेग मुगुमकार्मारोङ गाउँपालिकाको डोल्फु गाउँका वासिन्दा अहिले खेती बालीभन्दा बढी जङ्गलमै भर पर्न बाध्य छन्। यहाँको हिमाली भेगमा धान, गहुँ वा मकै जस्ता मुख्य अन्नबाली उब्जिँदैनन्। आलु बाहेक अन्य उत्पादन नगन्य मात्रामा हुने भएकाले स्थानीय जीवनयापनका लागि जङ्गलमा पाइने भोटेजिरा (जिम्बु) जस्ता जडीबुटी नै मुख्य आधार बनेका छन्।

डोल्फुका किसान तोर्जिङ लामाको भनाइमा, “खेतबारीले खान दिन्न, जिम्बुले भने छोराछोरी पढाउनेदेखि घरखर्च धान्ने काम गरिदिन्छ।” उनका अनुसार एक किलो जिम्बु १० देखि १२ हजार रुपैयाँमा व्यापारीलाई बेच्न सकिन्छ। यही पैसाले उनीहरू दैनिकी चलाउँछन्।

पेपा लामा जस्ता स्थानीयले हरेक वर्ष जिम्बु सङ्कलन गरेर काठमाडौँ पढिरहेका छोराहरूको खर्च जुटाइरहेका छन्। “जेठो ११ कक्षामा, कान्छो ७ कक्षामा छ। पढाइ खर्च जिम्बु बिक्रीकै भरमा पुगेको छ,” लामा भन्नुहुन्छ ।

बजारसम्म पुग्न अझै पिठ्यूँमै
मुगुमकार्मारोङ अझै सडक सञ्जालसँग जडान नभएकाले यहाँको जिम्बु सदरमुकाम गमगढीसम्म पिठ्यूँमै बोकेर ल्याइन्छ। व्यापारी कुन्जुकपेपा लामाका अनुसार जिम्बु प्रतिमाना एक सय रुपैयाँका दरले चामल, सिमी वा नगदसँग साटिन्छ। स्थानीय उत्पादनलाई कर्णालीका अन्य जिल्लादेखि बाहिरी प्रदेशसम्म निर्यात गरिँदै आएको भए पनि, यो अझै करको दायरामा परेको छैन।

सुगन्धले बनाएको पहिचान
डिभिजन वन कार्यालयका अधिकृत ललित कर्णका अनुसार दाल, तरकारी वा मासुमा राख्दा आउने बास्नाका कारण जिम्बु अत्यधिक माग हुने वस्तु हो। चालु आर्थिक वर्षमा मात्र ४ सय किलो जिम्बु आधिकारिक रूपमा निकासी भएको छ।

गाउँपालिकाको चुनौती र सम्भावना
मुगुमकार्मारोङ–१ का वडा अध्यक्ष कार्मा तुन्डुप लामाले जिम्बु सङ्कलन अहिले पनि मौसमी र व्यक्तिगत प्रयासमै सीमित भएको बताए। “अहिले ठूलो स्तरमा व्यावसायिक अभ्यास सुरु भएको छैन, त्यसैले करको दायरामा ल्याउन पनि समय लाग्छ,” उनका अनुसार, व्यवस्थित उत्पादन र बजार व्यवस्थापन भएमा जिम्बुले गाउँको आर्थिक स्वरूप नै बदल्ने सम्भावना छ।

‘अर्ग्यानिक’ सम्पदा
हिमालको पाटन क्षेत्रमा स्वाभाविक रूपमा उम्रिने जिम्बु कुनै रासायनिक मल–औषधि बिना उत्पादन हुने भएकाले यो पूर्णतया ‘अर्ग्यानिक’ मानिन्छ। यसको स्वाद र सुगन्धकै कारण कर्णाली मात्र होइन, देशका अन्य भागमा समेत माग बढ्दो छ।

स्थानीयको भनाइमा, यार्चागुम्बा, चौँरी तथा अन्य जडीबुटीसँगै भोटेजिरा नै उपल्लो मुगुवासीको मुख्य जीविकाको स्रोत बनेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्