एक्सक्लुसीभ

वीरगन्जमा १० जनामा हैजाको सङ्क्रमण पुष्टि, समुदायस्तरमै फैलिएको आशङ्का

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकाको नगवा तथा मुर्ली क्षेत्रका झाडापखाला लागेर अस्पताल भर्ना भएका बिरामीहरू मध्ये १० जनामा हैजा (कोलेरा) को सङ्क्रमण पुष्टि भएको छ ।

अहिले नारायणी अस्पताल, वीरगन्ज हेल्थकेयर, तराई अस्पताल लगायत स्वास्थ्य संस्थाहरू झाडापखालाका बिरामीहरूले भरिएका छन् ।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका अनुसार, शनिबार बिहान १० बजे सम्ममा वीरगन्जको वडा नम्बर ११, १२, १३, १५ र १६ का विभिन्न टोल विशेषगरी नगवा र मुर्ली टोलका दस जनामा भिब्रियो कोलरी जीवाणुबाट हुने हैजाको सङ्क्रमण पुष्टि भएको हो ।

महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका अधिकृत राजु साहले मुर्ली टोलका झाडापखालाका कारण वीरगन्जको तराई अस्पतालमा भर्ना भएका ३० जना बिरामीमध्ये शुक्रबार साँझ तीन जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा १६ वर्षीय एक बालक, २४ वर्षीय एक युवक र २४ वर्षीय एक महिला रहेका छन् ।

त्यस्तैगरी नारायणी अस्पतालमा झाडापखाला लागेर भर्ना भएका १५ जनाको परीक्षण गर्दा शनिबार बिहान ५ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । त्यस्तैगरी वीरगन्ज हेल्थकेयर अस्पतालमा भर्ना भएका मध्ये २ जनामा शनिबार बिहान हैजाको सङ्क्रमण पुष्टि भएको वीरगन्ज हेल्थकेयर अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले जानकारी दिनुभयो । पछिल्लो १० दिनमा १ सय भन्दा बढी झाडापखाला लागेका बिरामी अस्पतालमा भर्ना भएर उपचार गराई रहेको डा. अन्सारी बताउनु भयो ।

वीरगन्ज हेल्थकेयर अस्पतालमा झाडापखाला र बान्ताका कारण भर्ना भएर उपचार गराइरहेका अन्दाजी २० वर्षिय एक युवकको शुक्रबार मृत्यु भएको थियो । त्यस्तैगरी नारायणी अस्पतालमा झाडापखाला लागेर अस्पतालमा उपचार गराई रहेको अन्दाजी ३७ वर्षिय युवकको शुक्रबार दिउँसो मृत्यु भएको थियो ।

शनिबार बिहानसम्म झाडापखालाकै कारण तीन जनाको मृत्यु भएको जानकारी आएको महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका अधिकृत राजु साह बताउनु हुन्छ । उहाँका अनुसार ती तीन व्यक्तिको मृत्यु हैजाकै कारण भएको हो वा होइन भन्ने पुष्टि हुन बाँकी रहेको छ ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर , नारायणी अस्पतालमा डाक्टर उदयनारायण सिंह र वीरगन्ज महानगरका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरको नेतृत्वमा रहेको स्वास्थ्य टोलीले शङ्कास्पद क्षेत्र तथा घरहरूबाट खानेपानीको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको वीरगन्ज महानगरपालिकाका प्रेस सल्लाहकार नवराज फुयालले जानकारी दिनुभयो ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले भन्नुभयो , “झाडापखाला लागेर अस्पताल भर्ना भएका मध्ये १५ जनाको मात्र परिक्षण गरिएको थियो अहिले बिरामी आउनेक्रम जारी छ , अन्यको जाँचको रिर्पोट आईसकेको छैन त्यसैले हैजा सङ्क्रमितको सङ्ख्या अझै बढने छ ।”

नारायणी अस्पतालमा झाडापखाला लागेर आएका बिरामीहरूलाई आकस्मिक कक्षमा एक बेडमा दुई जना राख्दा पनि ठाँऊ अभाव भएपछि भुइँ मै राखेर उपचार भइरहेको छ । शनिबार बिहानसम्म १ सय भन्दा बढी झाडापखालाका बिरामी उपचार गर्न आईपुगेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले बताउनु भयो ।

तराई हस्पिटलमा झाडापखाला लागेर उपचार गराउन आउने बिरामीको संख्या १ सय ५० भन्दा माथि पुगेको बताईएको छ भने वीरगञ्ज हेल्थकेयर अस्पतालमा पनि करिब १ सयको हाराहारीमा झाडापखाला लागेका बिरामीहरू उपचारत रहेको जसमध्ये ८–१० जना आइसियुमा उपचाररत रहेका छन् ।

हैजाको सङ्क्रमण पुष्टि भएपछि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा शुक्रबार रातिदेखि नै संक्रमितहरूको बसोवास क्षेत्र मुर्ली टोल, नगवा र अन्य प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रेस सल्लाहकार फुयालले बताउनु भयो ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत तराई अस्पताल, नारायणी अस्पताल र नेसनल मेडिकल कलेजमा हैजा परीक्षण किट पठाइएको र अन्य अस्पतालमा पनि किट वितरण गर्ने तयारी भइरहेको महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका अधिकृत राजु साहले बताउनु भयो ।

शनिबार महानगरले महानगरपालिकाभित्र सञ्चालित अस्पतालका सञ्चालकहरूसँग बैठकगर्दै सङ्क्रमण नियन्त्रणमा थप सतर्कता अपनाउन आग्रह गरेको छ । अहिले वीरगन्ज को १ देखि १६ नम्बर वडा बढी जोखिमयुक्त क्षेत्र मानिएको छ र त्यहाँ घर–घरमै टोली पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने कार्य भइरहेको छ ।

डा. उदय नारायण सिंहका अनुसार, हैजा रोगका प्रमुख लक्षणहरूमा निरन्तर झाडापखाला, बान्ता, पेट दुख्ने, ज्वरो, आँखा गाडिने, मांसपेशी दुख्ने र शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुने छन् । समयमै उपचार नभए रोगले मृत्युसम्म पुर्याउन सक्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.