नेपाल

कर्णाली बैँक घोटाला काण्डका आरोपी वडाध्यक्ष र चिकित्सकसहित १०३ जना फरार

नेपालगन्ज । नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको घोटालामा बहालवाला वडाध्यक्षदेखि बैँकका उच्च कर्मचारी, सञ्चालक, चिकित्सक, नेता लगायत अडिटर समेत गरेर १०३ जना फरार रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा १०९ जनालाई प्रतिवादी बनाएर साउन १४ गते दायर गरिएको मुद्दामा चार जना पक्राउ परेको, दुई जनाको मृत्यु भइसकेको र १०३ जना फरार रहेको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलाशले जनाएको छ।

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलाशका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार सो मुद्दामा पक्राउ परेका बैँकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायसहित पूर्व अध्यक्ष पशुपतिदयाल मिश्रा र वित्तशाखा प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश बुधबार दिएको थियो भने नेपाल राष्ट्र बैँकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलाशका न्यायाधीशहरू चन्द्रबहादुर सारु र पुनमसिंह चन्दको संयुक्त इजलाशले सो आदेश दिएको हो।

४५ पृष्ठ र ३२ बुँदामा रहेको अदालतको सो आदेशमा फरार रहेका १०३ जना प्रतिवादीको हकमा कानुन बमोजिम म्याद जारी गरी नियमानुसार गर्नु भनि आदेश भएकोले फरारलाई पक्राउ गर्न प्रहरीलाई ३५ दिने म्यादसहितको पक्राउ पुर्जी पठाउने अदालतका सूचना अधिकारी विष्टले बताउनुभयो।

उहाँले धेरै जना प्रतिवादी फरार रहेकोले पक्राउ पुर्जी जारी गर्न एक दुई दिन लाग्ने पनि बताउनुभयो। १०५ जनाको फरार सूचीमा रहेका राप्ती पोलिमर्स प्रालिका सञ्चालक महेशजङ्ग थापाको २०७८ साल वैशाख ३१ गते तथा कर्णाली डेभलपमेन्ट बैँकका तत्कालीन कर्मचारी धनन्जय कश्यपको २०८२ साल वैशाख ५ गते मृत्यु भएको थियो। बाँकी रहेका १०३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिने अदालतले जनाएको छ।

कर्णाली डेभलपमेन्ट बैँकको घोटालामा फरार सूचीमा रहेका १०३ जना मध्ये बैँकका उच्च कर्मचारी, सञ्चालक, राजनीतिक दलका नेता, चिकित्सक र लेखा परीक्षकसमेत रहेका छन्।

फरार सूचीमा रहेकामध्ये बैँकका अध्यक्ष डा. ओमप्रकाश मिश्र, पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत, निरजविक्रम शाह र विष्णुप्रसाद कक्षपति, बैँकका पूर्व नेपालगन्ज शाखा प्रमुख दीपा थापा हुनुहुन्छ।

डुडुवा गाउँपालिका–६ का बहालवाला वडाध्यक्ष मोहनराम मिश्र, वरिष्ठ चिकित्सक डा. उषा राणा शाह, राजनीतिक दलका नेता ओमप्रकाश आजाद र ओमप्रताप राणा फरार सूचीमा रहेको जनाइएको छ।

लेखापरीक्षक विनमकुमार श्रेष्ठ, भुवनप्रसाद गैरे, तुलाराम कुर्मी, केशवप्रसाद न्यौपाने र शुरेशचन्द्र श्रेष्ठ सो बैँक घोटालामा फरार सुचीमा हुनुहुन्छ।

बैँकमा घोटाला गरेको भन्दै पक्राउ परेका चार जनासहित १०९ जनालाई प्रतिवादी बनाएर तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपियाँ तीन पैसा बिगो कायम गरेर उच्च अदालतमा मुद्दा दर्ता गरिएको थियो।

राष्ट्र बैँकबाट गठित व्यवस्थापन समूहका तर्फबाट अख्तियार प्राप्त समूहका सदस्य उपनिर्देशक जुगलकिशोर कुशवाहको जाहेरीले सो मुद्दा दर्ता गरिएको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.