राजनीति

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का  महासचिव शङ्कर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताउनुभएको छ । ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताउनुभयो ।

“जुन नेताहरूले हिजो एमाले विभाजन गरेर विकल्पमा पार्टी बनाउँछौँ भन्ने ठान्नुभएको थियो, आज एक प्रकारको निराशा र हतासा पनि देखिन्छ, केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनेर पनि अभिव्यक्ति दिनुभएको छ, कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन भनिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले विभाजनकारीका कारण जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि एमाले परिणामको हिसाबले दोस्रो पार्टी बन्न पुगेको बताउनुभयो । उहाँले पार्टी फुटाउने अभियान असफल भएकाले पार्टी छाडेर गएका नेता कार्यकर्तालाई अब आफ्नै घर फर्कन आग्रह गर्नुभयो । उहाँले नेताहरू हतास भएर हिँडेका बेला कार्यकर्ताहरू सही बाटोमा हिँड्नुपर्ने भनाइ राख्नुभयो ।

महासचिव पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पेसागत महासङ्घ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा लछी सिंहसहित मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिका अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेतलाई पार्टीमा प्रवेश गराउनुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.