राजनीति

भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने जसपा अध्यक्ष यादव चेतावनी

सप्तरी । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।

सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले वर्तमान सरकारले मधेश विरोधी भूमि विधेयक जबरजस्ती लाद्न खोजे मधेशी जनता आफ्नो अस्तित्व र पहिचानको रक्षाका लागि जनविद्रोह गर्ने चेतावनी दिनुभयो ।

उहाँले वन विनास, चूरे उत्खनन् तथा पहाडका बासिन्दालाई मधेशमा भू–माफियाहरुलाई अवैध बसोवास गराउन सरकार षड्यन्त्रमा लागेको आरोप लगाउँदै जनतालाई सचेत रहन आग्रह समेत गर्नुभयो ।

सरकारको गलत नीतिका कारण मधेश मरूभूमिकरणतर्फ उन्मुख भएको आरोप लगाउँदै उहाँले मधेशमा पानीको हाहाकार रहेको तथा अन्नदाता नै सङ्कटमा परेकाले बजेट संशोधन गरी वर्तमान समस्या समाधान गर्न आग्रह समेत गर्नुभयो  ।

पानीको जलस्तर घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुहुँदै जसपा अध्यक्ष यादवले भने जमिनको सतहमा पानी कायम राख्नुको मूल आधार नै चुरे हो, बसोबासको नाममा वन फडानी गरी बसोबास चुरेको संरक्षण नगरिए मधेशको भूमि मरुभूमि हुने बताउनुभयो ।

जनसङ्ख्याको आधारमा बजेट ल्याउन माग गर्दै उहाँले ४० प्रतिशत जनसङ्ख्यालाई ८९ प्रतिशत र मधेशको ६० प्रतिशत जनतालाई मात्र ११ प्रतिशत बजेट विनियोजन गरिएकोमा आपति जनाउनुभयो ।

संसद खरिद बिक्री, योजना बिक्री तथा कमिशनको खेल हुने गरेको चर्चा गर्नुहुँदै संविधान संशोधन गरेर जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, निर्वाचन प्रणाली, जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरु राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले प्रदेशलाई अझैं पनि अधिकार नदिएका कारण अपेक्षा अनुसार जनताको काम गर्न नसकेको बताउनुहुँदै प्रदेश सरकारलाई न त अधिकार दिएको छ, न पुलिस छ न कर्मचारी, प्रदेशहरुलाई अधिकारविहीन बनाइएको बताउनुभयो ।

पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेकपा माओवादीका केन्द्रिय सदस्य सूर्यनाथ यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डम्बर साह, समाजवादी लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, जनमत पार्टीका जिल्ला ईञ्चार्ज रामगमन साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका मधेश प्रदेशका प्रवक्ता मनोज कुमार मण्डल, जसपा नेपालका मधेश प्रदेशका अध्यक्ष बालकिशोर यादव नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष श्रवण कुमार देव, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पार्टीको जिल्ला अधिवेशन साउन १४, १५ र १६ गते गरि तीन दिनसम्म चल्ने जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिनुभयो  ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.